फिल्म निर्माता कमल किशोर पक्राउ

रंग नेपाल २०७९ कार्तिक ११ मा प्रकाशित

एजेन्सी । भारतीय बलिउडका चर्चित निर्माता कमल किशोर मिश्रलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले कमलविरुद्ध मुम्बईको अम्बोली प्रहरी चाैकीमा धारा २७९ र ३३८ अन्तर्गत मुद्दा दर्ता गर्दै पक्राउ गरेकाे हाे । कमलले केही दिनअघि श्रीमती यास्मिनलाई कारले किचेर हत्या गर्ने प्रयास गरेका थिए । त्यसपछि यास्मिनले प्रहरीमा उजुरी दिएकी थिइन् ।

कमलकी श्रीमती यास्मिनले भनिन्, ‘अक्टोबर १९ पति आफ्नो कारमा बसेर मोडल आयशा सुप्रिया मेमनसँग रोमान्स गरिरहेका थिए । उनीहरु दुवै एकदमै नजिक थिए । दुवै जनालाई सँगै देखेपछि मैले गाडीको सिसामा ढकढक्याएँ र सिसा तल गर्न भने तर कमलले मेरो कुरा सुनेन र गाडी घुमाएर मलाई किचेर भागेँ ।’

यास्मिनले थप्दै भनिन्, ‘मैले कार रोक्न खोजेँ, त्यसैले उनले कारले मलाई हाने। जसका कारण मेरो टाउको र हात खुट्टामा निकै चोट लागेको छ । कमलले अलिकति पनि मानवता देखाएनन् । हाम्रो सम्बन्ध ९ वर्षको थियो तर त्यो मान्छेले ९ सेकेन्डलाई पनि मेरो बारेमा सोचेन ।’

कमल फिल्म उद्योग जगतका चर्चित निर्माता हुन् । उनी युपीका बासिन्दा हुन् । उनले सन् २०१९ मा निर्माताको रुपमा बलिउडमा डेब्यु गरेका थिए । कमलले वान इन्टरटेनमेन्ट फिल्म प्रोडक्सन नामक प्रोडक्सन हाउस चलाउँछन् । उनले ‘खली बाली’, ‘देहती डिस्को’, ‘फ्लैट नम्बर ४२०’, ‘शर्मा जी की लग गई’ जस्ता धेरै फिल्म निर्माण गरेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट