विन्ध्यवासिनी म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्ड शम्भुजीतलाई

रंग नेपाल २०८२ चैत ५ मा प्रकाशित

काठमाडौं । विन्ध्यवासिनी म्युजिक अवार्डको १६ औं संस्करण यही चैत २७ गते राजधानीमा आयोजना गरिने भएको छ । अवार्डमा प्रदान गरिने विभिन्न सम्मान तथा पुरस्कारको घोषणा गरिएको छ ।

विन्ध्यवासिनी फाउण्डेसनको हालै बसेको सल्लाहकार समिति तथा कार्यसमितिको संयुक्त बैठकले मुक्तिनाथ विकास बैंकको प्रस्तुति रहने रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड २०८२ मा सम्मानित र पुरस्कृत हुनेको नाम सार्वजनिक गरेको हो ।

समारोहमा संगीतकार शम्भुजीत बास्कोटालाई एक लाख रुपैयाँ नगद र सम्मानपत्रसहित विन्ध्यवासिनी म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्ड २०८२ बाट सम्मानित गरिने भएको छ ।

त्यसैगरी, ५० हजार रुपैयाँ नगद र सम्मानपत्रसहित यसपटकको विन्ध्यवासिनी संगीत साधना सम्मान २०८२ बाट गीतकार विजय शिवाकोटी र २५ हजार रुपैयाँ नगद र सम्मानपत्रसहित पत्रकार पवन आचार्यलाई विन्ध्यवासिनी कला पत्रकारिता सम्मान २०८२ बाट सम्मानित गरिनेछ ।

विन्ध्यवासिनी फाउण्डेसनका सल्लाहकार तथा नेपाली संगीत क्षेत्रका शिखर पुरूष गायक स्व. प्रेमध्वज प्रधानप्रति श्रद्धासुमनसहित उनको नाममा रहेको प्रेमध्वज संगीत रत्न सम्मानबाट यो वर्ष २५ हजार रुपैयाँ नगद र सम्मानपत्रसहित गायिका रचना रिमाललाई सम्मानित गरिने भएको छ भने लोक गायक झलकमान गन्धर्वको नाममा स्थापित झलकमान लोक–संगीत सम्मान २०८२ बाट २५ हजार रुपैयाँ नगद र सम्मानपत्रसहित लोक दोहोरी गायक पशुपति शर्मालाई सम्मान गरिनेछ ।

यस वर्षबाट अवार्डको विधा घटाइएको विन्ध्यवासिनी फाउण्डेसनकी अध्यक्ष लीना रेग्मीले जानकारी गराएकी छन् । उनका अनुसार यस वर्षबाट पब्लिक च्वाईस अवार्डसमेत गरी कुल ११ विधामा अवार्ड प्रदान गरिनेछ । यसै वर्षबाट हरेक विजेतालाई ट्रफीसहित ५ हजार रुपैयाँ नगद समेत प्रदान गरिने रेग्मीले जानकारी गराइन् ।

विन्ध्यवासिनी म्युजिक अवार्डको १६ औं संस्करण आगामी चैत्र २७ गते राष्ट्रिय नाचघर जमलमा आयोजना गरिने अवार्डका सञ्चालक सुवास रेग्मीले जानकारी गराए ।

धेरै पढिएका

पछिल्ला अपडेट