नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको नाटक सूची र मञ्चन तालिका सार्वजनिक

रंग नेपाल २०७९ कार्तिक १८ मा प्रकाशित

काठमाडौं । सामाजिक रूपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव, दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) मा विश्वभरीबाट छनौट भएका नाटकहरूको सूची र मञ्चन तालिका सार्वजनिक भएको छ ।

आउँदो मंसिर ९ गतेबाट सुरु हुने महोत्सवमा छनौट भएका २२ नाटकको सूची तथा ती नाटकहरूको मञ्चन तालिका महोत्सवको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक भएको हो । मञ्चन तालिका अनुसार ती २२ नाटकको महोत्सवमा कुल ३२ मञ्चन (शो) हुनेछन् ।

आयोजक मण्डला थिएटर नेपालले सार्वजनिक गरेको सूचीमा नेपालका ६ नाटक र विश्वभरीबाट प्राप्त आवेदनबाट छानिएका १६ नाटकको मञ्चन तालिका प्रकाशित भएको छ । महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरू समावेश छन् ।

तालिका अनुसार मण्डला थिएटरको थापागाउँ, काठमाडौंस्थित मुख्य नाटकघर, स्टुडियो र खुल्ला परिसर गरी तीन स्थानमा हरेक दिन फरक–फरक नाटकको एकदेखि पाँच मञ्चनसम्म हुनेछन् । महोत्सवमा ९ नाटकको भने दुई–दुई मञ्चन हुने तालिकामा उल्लेख छ ।

९ दिन सम्म आयोजना हुने महोत्सव मंसिर ९ देखि मंसिर १७ (नोभेम्बर २५–डिसेम्बर ३) सम्म हुनेछ । उद्घाटनको दिन दुई र समापनको दिन एक नेपाली नाटक मञ्चन हुनेछन् । उद्घाटन मंसिर ९ गते दिउँसो १ः३० बजे र समापन मंसिर १० गते साँझ ७ः३० बजे हुनेछ ।

धेरै पढिएका

पछिल्ला अपडेट