चलचित्र निर्देशक समाजको अध्यक्षमा पराजुली

रंग नेपाल २०७९ चैत १२ मा प्रकाशित

काठमाडौं । नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदीप पराजुली निर्विरोध निर्वाचित भएका छन् ।

शनिबार काठमाडौंमा सम्पन्न १५औँ वार्षिक साधारणसभाबाट नयाँ कार्यसमितिका लागि अध्यक्ष पदमा सुचित्रा श्रेष्ठले दिएको उम्मेदवारी फिर्ता लिएपछि निवर्तमान महासचिव पराजुली निर्विरोध निर्वाचित भएका हुन् ।

‘संस्थालाई वैद्धिक र सिर्जनात्मक ढङ्गले अगाडि बढाउने, प्रविधिमैत्री बनाउने, अक्षयकोष सञ्चालन गर्ने, मास्टर क्लास गर्ने लगायतका एजेण्डा पूरा गर्नेछु’, नवनिर्वाचित अध्यक्ष पराजुलीले भने, ‘निर्देशकले मेरो संस्था भन्न सक्ने किसिमले काम गर्नेछु । मलाई विश्वास गरेर निर्विरोध बनाउनु भएकाले अवसरसँगै चुनौती पनि उत्तिकै छ ।’

कूल १५ सदस्यीय कार्यसमितिमा उपाध्यक्षमा सुभाष गजुरेल र दीपशिखा खड्का, महासचिवमा अरुणकुमार प्रधान, सचिवमा देवेन्द्र पाण्डे, कोषाध्यक्षमा समुन्द्र भट्ट, सहकोषाध्यक्षमा राज बस्न्यात निर्विरोध निर्वाचित भएका छन् ।

सदस्यमा दीपक वली, सौरभ चौधरी, अम्बर ओली, सत्यराज चौलागाईं, उत्सव केसी, अमृतमान महर्जन निर्विरोध निर्वाचित भएका हुन् । महाधिवेशनमा दुई सह–सदस्यका भएको निर्वाचनमा सीमा गुरुङ र रामकुमार श्रेष्ठ निर्वाचित भए ।

धेरै पढिएका

पछिल्ला अपडेट