कलाकार सागर लम्साल ‘बले’माथि बलात्कारको आरोप

रंग नेपाल २०८२ चैत २० मा प्रकाशित

काठमाडौं । चर्चित कलाकार सागर लम्साल ‘बले’माथि बलात्कारको आरोप लागेको छ ।

हाल अमेरिका बस्दै आएकी एक युवतीले आफ्नो इच्छाविपरीत लम्सालले जबर्जस्ती करणी गरेको आरोप लगाएकी हुन् । सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले एक वर्ष अगाडि कार्यक्रमको सिलसिलामा अमेरिका आएका लम्सालले आफूमाथि जबर्जस्ती करणी गरेको लेखेकी छन् ।

पीडित युवतीले आफू सानैदेखि डिप्रेसन र एन्जाइटीको समस्यासँग जुधिरहेको र अमेरिका पुगेको केही समयमै मानसिक स्वास्थ्य बिग्रिएर अस्पताल भर्ना भएको समेत उल्लेख गरेकी छन् ।  उनले आफू अस्पतालबाट डिस्चार्ज भएपछि जीवनलाई नयाँ ढंगले अगाडि बढाउने प्रयास गरिरहेको समयमा यो घटना भएको उल्लेख गरेकी छन् ।

“कुरै कुरामा ‘तिमी बसेको ठाउँ हेरौँ न त’ भनेर भन्नुभयो । आफ्नो दाइ मानेको मान्छे, जसलाई मैले १० वर्षभन्दा बढी अगाडिदेखि चिनेको थिएँ, उहाँलाई विश्वास गरेर मैले आफ्नो अपार्टमेन्ट देखाउन लगेँ । मेरो अपार्टमेन्टमा बसेर हामी कुरा गर्दा मेरो स्वास्थ्यको कुरा निस्कियो । मैले आफ्नो संघर्ष सबै शेयर गरेँ, रुँदै भन्दै थिएँ कति गाह्रो भइरहेको छ भनेर । मलाई थाहा थिएन, जसलाई मैले दाइ मान्थेँ र मेरो पूरै परिवारले परिवारजस्तै मानेको थियो, त्यो मान्छे त एउटा राक्षस रहेछ । ममाथि बलात्कार भयो ।”, उनले फेसबुकमा लेखेकी छन्, “जति आशा बाँकी थियो, जति पनि शक्ति बाँकी थियो– सबै हरायो । मेरो आवाज निस्किएन । म चिच्याउन चाहन्थेँ, मेरो परिवारलाई भन्न चाहन्थेँ, तर त्यो अवस्थामै पनि यदि मैले केही भनेँ भने मेरो पूरै परिवार नष्ट होला भन्ने डर लाग्यो ।”

“माफ गर्नुहोस् बाबा, आज यसरी भन्दै छु । तपाईंलाई भन्न हिम्मत नै आएन । सायद तपाईं सँगै हुनुहुन्थ्यो भने तपाईंको अँगालोमा रुन्थेँ होला, त्यहीँ लड्ने शक्ति पनि आउँथ्यो होला । तर म धेरै टाढा थिएँ तपाईंबाट । त्यो बेला एक सास फेर्न गाह्रो हुने अवस्थामा आफूलाई कसरी जोगाउँथेँ होला ? भन्न सकिनँ, कसैलाई भन्न सकिनँ । आफैदेखि घिन लाग्न थाल्यो । वर्षौंदेखिको संघर्षका कारण मेरो आत्मा, शरीर, दिमाग र मन सबैले हार माने । जीवन त्याग्न पनि सकिनँ परिवारको बारेमा सोचेर, तर यो कुराले मलाई हरेक दिन खाइरहेको छ । राम्ररी सास फेर्न सक्दिनँ, खान सक्दिनँ, लाग्छ एउटा जिउँदो लास भएको छु ।” उनले लेखेकी छन्, “र त्यो राक्षस फर्केर आफ्नो घर गयो र खुलेर बाँचिरहेको छ । आज अलि हिम्मत आयो र लेखेँ । थाहा छ मैले न्याय पाउँदिनँ भनेर, र अब लड्ने हिम्मत पनि छैन । तर जसले मलाई यति गलत गर्‍यो, त्यो मान्छेले परिणाम भोग्नुपर्छ । पछि गएर अरू कसैलाई यस्तो गर्न नपाओस् ।”

उनले लाम्साललाई प्रश्न गरेकी छन्– “कसैको जीवन बर्बाद गरेर बाँच्दा कस्तो महसुस हुन्छ ?”

धेरै पढिएका

पछिल्ला अपडेट