प्रमिला भन्छिन्– हुक्का: एन एब्जर्ड ड्रिमको स्वाद लोकल चामल जस्तै

रंग नेपाल २०८० वैशाख २२ मा प्रकाशित

काठमाडौं । अभिनेत्री प्रमिला खनाल पोखरामा जन्मिइन्, चितवनमा हुर्किइन् ।

उनी गाउँमा रहँदा एउटा सामान्य कोइला बालेर तमाखु भरी धुँवा तान्ने भाडालाई ‘हुक्का’ भन्थिइन् । वास्तविकता पनि त्यही थियो । आगामी जेठ १२ गते रिलिज हुने चलचित्र ‘हुक्का: एन एब्जर्ड ड्रिम’ मा प्रमुख भूमिकामा अभिनय गरेकी प्रमिलाले यो फिल्मको अभिनय पछि ‘हुक्का’को वास्तविक अर्थ बुझिन् ।

‘हुक्कालाई मैले हेर्दा सामन्य कोइला बालेर तमाखु भरी धुवाँ तान्ने भाडाका रुपमा सम्झन्थेँ । हुक्कालाई समाजमा प्रतिष्ठाको विषय मानिँदो रहेछ भन्ने सुनेको थिएँ । तर, यो चलचित्रमा काम गरेपछि त्यो भ्रम मात्र रहेछ भन्ने थाहा पाएँ,’ प्रमिला भन्छिन् । चलचित्र ‘दबाब’बाट अभिनय यात्रा सुरू गरेकी प्रमिलाले त्यसयता उनले धेरै चलचित्रमा सहायक चरित्र निभाइन् । तर ‘हुक्का: एन एब्जर्ड ड्रिम’मा भने उनले प्रमुख चरित्र निर्वाह गरेकी छिन् ।

प्रमिलाले चलचित्रमा साहसी र निडर महिलाको भूमिका निर्वाह गरेकी छिन् । ‘सम्बन्धविच्छेदपछि माइतमै बसेकी एक छोरीकी आमा र गाउँकी मुखियाकी छोरीको चरित्रमा देखिएकी छु,’ आफ्नो भूमिकाबारे प्रमिला भन्छिन् । यो चलचित्रमा लकडाउनपछि जोडिएकी हुन् । लकडाउनमा धेरै समय घरमै बसेकी प्रमिलाले त्यही समयमा ‘हुक्का: एन एब्जर्ड ड्रिम’को स्क्रिप्ट पढिन् । ‘मेरो चरित्रसँगै चलचित्रले देखाउन खोजेको विषयवस्तु पनि मन पर्‍यो । अर्को कुरा सबै सुटिङ पोखरामा नै हुने भएपछि म यो चलचित्रमा जोडिएँ,’ उनी भन्छिन्, ‘किनकी कोरोनाले सुनसान बनेको काठमाडौबाट केही समय टाढा बसेर काम गर्ने मौका पाएकी थिएँ । त्यो मौकालाई गुमाउन चाहिनँ । त्यो समय सुटिङ गर्न जादैछु भन्दा पनि केही सिक्न र आफुलाइ फ्रेस बनाउन जाँदैछु भन्ने थियो ।’

प्रमिलाको बुझाइमा ‘हुक्का: एन एब्जर्ड ड्रिम’ले समाजकै कथा बोल्छ । उनले ट्रेलरमा देखाइएका विषयवस्तु समाजसँग ‘रिलेट’ गर्ने भएकाले पनि चलचित्र राम्रो बनेको दाबी गरिन् ।

प्रमिला यो समय मातृत्वकालको अनुभव लिइरहेकी छिन् । गत वैशाखमा उनी छोराको आमा भइन् । चलचित्रमा पनि उनले एउटी छोरीकी आमाको चरित्र निभाएकी छिन् । ‘चलचित्रले एउटी आमाको छोरी प्रतिको दायित्व, कर्तव्य र सम्बन्ध निकै प्रगाढ देखाएको छ । अहिले म पनि वास्तविक जीवनमा आमा बनेकी छु । सन्तानसँग एउटी आमाको सम्बन्ध अविस्मरणीय हुँदो रहेछ,’ प्रमिला भन्छिन्, ‘अहिले छोरालाई बढी समय दिइरहेकी छु । यही बेला चलचित्र रिलिज हुने भएकाले चलचित्रको प्रोमसनमा हिँड्न नपाउँदा खु:ख लागेको छ ।’

‘हुम्का: एन एब्जर्ड ड्रिम’लाई प्रमिला ‘लोकल चामल’ मान्छिन् । उनी आम नेपालीलाई ‘लोकल चामल’को स्वाद थाहा भइरहेको बेला यो चलचित्रले त्यो स्वाद दिनेमा ढुक्क छिन् । ‘हुक्का: एन एब्जर्ड ड्रिममा त्यही देखाउन र चखाउन खोजिएको छ । हामीले कुनै भयङ्कर फरक र डर लाग्दो विषय पनि उठाएका छैनौं । तर जे भन्न र देखाउन खोजेका छौं । त्यो चाहिँ फरक तरिकाले देखाउने प्रयास गरेका छौं,’ प्रमिलाको भनाइ छ ।

शम्भु थापाको निर्देशन रहेको चलचित्रमा प्रमिलासँगै, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विकको अभिनय छ ।

रेश्मा प्रधान सह–निर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको चलचित्रमा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता छन् । फिल्मको वितरण उपत्यकामा स्टेसन फाइभ र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछन् ।

धेरै पढिएका

पछिल्ला अपडेट