चापागाईंलाई दाहाल यज्ञनिधि सम्मान प्रदान

रंग नेपाल २०८० साउन २६ मा प्रकाशित

काठमाडौं । साहित्यकार तथा रेडियोकर्मी दाहाल यज्ञनिधिको पाँचौँ वार्षिक स्मृतिका अवसरमा उनको नाममा स्थापित सम्मान वरिष्ठ समालोचक निनु चापागाईंलाई प्रदान गरिएको छ ।

मण्डिखाटारस्थित ‘सुधाको डिही’ मा दाहाल यज्ञनिधि सुधा सदनद्वारा बिहीबार आयोजित कार्यक्रममा इतिहासकार ज्ञानमणि नेपालले रु एक लाख ५० हजार राशिको सो सम्मान चापागाईंलाई प्रदान गरेका हुन् । गत वर्ष यो सम्मान राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक महावीर पुनलाई दिइएको थियो ।

यसैगरी दरबार हाइस्कुलमा गत वर्षको परीक्षामा नेपाली विषयतर्फ सर्वोत्कृष्ट छात्र÷छात्रा निखिलकुमार साह र लुनिभा कार्कीलाई छात्रवृत्तिस्वरूप रु १०–१० हजार राशिको दाहाल यज्ञनिधि बालप्रतिभा पुरस्कार प्रदान गरिएको छ ।

दाहाल यज्ञनिधिले लामो समय उक्त विद्यालयमा अध्यापन गर्नाका साथै रेडियो नेपालको ‘साहित्य संसार’ कार्यक्रम सञ्चालन गरेका थिए । उनकी धर्मपत्नी सुधा दाहालको नेतृत्वमा गत वर्ष उक्त सदन स्थापना भई सम्मान, पुरस्कार वितरण र प्रकाशनका लागि रु ५१ लाखको अक्षयकोष घोषणा गरिएको थियो ।

इतिहासकार नेपालले नेपाली समाज र संस्कृतिको रूपान्तरणमा दाहालको योगदान अविस्मरणीय भएको बताए । समालोचक प्रा डा माधवप्रसाद पोखरेलले दाहालका रचनामा नेपाली माटोप्रतिको अगाध आस्था प्रकट हुने गरेको जनाए । दाहालका विभिन्न पाँच कृति छन् ।

पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेललगायत सहभागी कार्यक्रमको पहिलो सत्रमा प्रा डा बद्रीविशाल भट्टराई, प्रमोद प्रधान र डा रमेश शुभेच्छुले दाहालको कृतित्व र व्यक्तित्वबारे कार्यपत्र प्रस्तुत गरेका थिए भने साहित्यकार अनिल पौडेल र सृजना शर्माले दाहालसँगका प्रेरक स्मरण सुनाएका थिए । कार्यक्रममा गायिका लोचन भट्टराईले दाहालका गीत र कवि देवकुमारी लुइँटेलले दाहालका कविता प्रस्तुत गरेका थिए ।

खोटाङको धारापानीमा विसं २०१० साउन ८ गते जन्मिएका मिर्गौलापीडित दाहालको २०७५ साउन २५ गते निधन भएको थियो । तत्कालीन लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्चका संस्थापक र नागार्जुन साहित्यिक प्रतिष्ठानका पूर्वअध्यक्ष दाहालले शिक्षा, साहित्य, संस्कृति, सञ्चार र समाजसेवाका क्षेत्रमा दिएको योगदान स्मरणीय छ ।

धेरै पढिएका

पछिल्ला अपडेट