बालेनको सचिवालयले भन्योः सविनालाई अपराधी जस्तै केरकार गरियो

रंग नेपाल २०८० भदौ १७ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले गएराति आफ्नी पत्नी सविना काफ्लेलाई प्रहरीले दुर्व्यवहार गरेको बताएका छन् ।

गएराति सरकारप्रति आक्रोशित हुँदै सामाजिक सञ्जालमा स्टाटस लेखेपछि विवादित बनेका बालेनले विज्ञप्ति जारी गर्दै प्रहरीले दुर्व्यवहार गरेको बताएका हुन् । बालेनको सचिवालयले जारी गरेको विज्ञप्तिमामा सुत्केरी रहेकी बालेनकी पत्नी सविना काफ्ले सवार गाडीलाई रोकेर प्रहरीले अपराधीलाई झैँ अनावश्यक केरकार गरेको उल्लेख गरिएको छ ।

‘आपतकालीन अवस्थाको बारेमा जवाफ दिँदा पनि ‘मैले चाहें भने यतै राख्न सक्छु’ भनेर धम्की दिने, कुनै ठूलो अपराध गरेका व्यक्तिलाई केरकार गरिएको शैलीले सोधपुछ गर्ने आचरणमा सुधार हुनु जरुरी छ । यस विषयमा गृह प्रशासनले सुनियोजित तरिकाले सञ्चारमाध्यमहरूलाई भ्रामक सूचना दिइ समाचार सम्प्रेषण गरेकोमा खेद समेत प्रकट गर्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

नगर प्रमुख सहितको परिचय खुलाए पश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत कति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे । सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्बन नगरी प्रहरीले ढोका खोल, के हो ? कहाँ हो ? यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सिटमा सवार सुत्केरी सबिना काफ्लेलाई अनावश्यक केरकार गरेको थियो,’ विज्ञप्तिमा भनिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट