इटहरीमा ‘काँडेतार’को विशेष च्यारिटी शो हुने

रंग नेपाल २०८० मंसिर २७ मा प्रकाशित

इटहरी । फिल्म ‘काँडेतार’को इटहरीमा विशेष च्यारिटी शो हुने भएको छ । नेपाल र भारतबीचको वर्षौदेखी उठिरहेको सीमा विवादलाई मुल मुद्दा बनाएर निर्माण भएको यो फिल्म युनिटले इटहरीमा पत्रकार भेटघाट गर्दै विशेष च्यारिटी शो बारे जानकारी गराएको हो । मंगलबार फिल्मका तर्फबाट गायिका तथा कार्यकारी निर्माता सत्यकला राई र निर्देशक तथा कलाकर नवल खड्काको उपस्थितिमा पत्रकार भेटघाट कार्यक्रम गरिएको थियो ।

इटहरीमा रहेको इलाईट सिनेमा हलमा यहि मंसिर ३० गते फिल्म ‘काँडेतार’को ३ शो प्रदर्शन गरिने निर्देशक तथा कलाकार खड्काले जानकारी गराए । उनका अनुसार पहिलो शो १०ः४५ बजे हुनेछ भने दोश्रो शो १ बजे र तेश्रो शो ३ बजे हुनेछ । फिल्म हेर्नको लागी शःशुल्क व्यवस्था रहेको छ । विशेष च्यारिटी शोबाट उठेको रकमलाई सीमा रक्षा गर्नलाई खटिएका पहरेदारहरुलाई हस्तान्तरण गर्ने निर्देशक खड्काले पत्रकार भेटघाटमा जानकारी गराए ।

यसअघि उनले यो फिल्मलाई देशभर ६० भन्दा बढी विशेष च्यारिटी शो सम्पन्न गरिसकेका छन् । अधिकांश ठाउँमा फिल्मले सकारात्मक प्रतिक्रिया पाएको उनको भनाई छ । आफूले बनाएको यो फिल्म काँडेतार अहिलेसम्म कसैले बनाउन नसकेको फिल्म भएको निर्देशक तथा कलाकार खड्काको दावी छ । यदि कसैले बनाएको दावी गर्न सक्छ भने आफूले सो फिल्मलाई २० लाख दिने ठोकुवा गरे । स्मरण रहोस् यो फिल्म काँडेतारले २०७७ सालमा नेपाल चलचित्र विकस बोर्डले मौलिक फिल्म निर्माणमा प्रोत्सान गर्न ‘स्टोरी बैंक’ स्थापना गरेको थियो । जस अन्तर्गत यो फिल्मले १० लाख पुरस्कार स्वरुप पाएको थियो ।

पछिल्लो समय जनकपुरमा फिल्मको विशेष च्यारिटी शो सम्पन्न गरेर कोशी प्रदेश प्रवेश गरेका नवलले सोहि दिन अर्थात मंसिर ३० गते नै धरानमा पनि काँडेतारको विशेष च्यारिटी शो गर्दैछन् । यतिबेला उनी च्यारिटी शोलाई सफल बनाउन सहयोगी संघसंस्था, समाजसेवी, बुद्धिजीवी लगायतलाई भेट्न व्यस्त छन् । लामो समयदेखी देशभक्त फिल्म निर्माण गर्दै आएका नवलकी श्रीमती अर्थात गायिका तथा यो फिल्मकी कार्यकारी निर्माता सत्यकला राईले आफूहरुले नाफा कमाउन फिल्म नबनाएको बताइन् । यदि त्यस्तो थियो भने आफ्नो घरबार बेच्दै बनाएको फिल्म डुब्दा पनि देशभक्त फिल्म बनाउन हार नखाएको उनको भनाई छ ।

यो फिल्म काँडेतारमा निर्देशक नवलका अलावा गौरब पहाडी, सुरबिना कार्की, रेबिका गुरूङ्ग, प्रशान्त यादब, मुरलिधर, संजय खतिवडा, रोमियन लिम्बू, केशव रायमाझी, राजेन्द्र भगत, पन्नालाल सिकदार, पर्शुराम चौधरी, महेश गिरी, पुष्प श्रेष्ठ, रितु चौधरी, रबि शाह, ज्ञानेन्द्र कोईराला, प्रेम कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ । शिवम अधिकारी र नवल खड्काको लेखन रहेको फिल्मको निर्मातामा भने माकिको राई र अन्जु केसी रहेकी छन् । यो फिल्म आउँदो फागुनको २५ गते सार्वजनिक प्रदर्शनमा आउँदै छ ।

धेरै पढिएका

पछिल्ला अपडेट