
पोखरा । गायिका शान्ति श्रीष मगरको स्वरमा रहेको ‘युके बस्ने दाइ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सुरेश राना मगरको रचना रहेको गीतमा पुरुष आवाज सागर आलेको रहेको छ ।
गीतकार प्रतिष्ठानद्वारा शुक्रबार आयोजित कार्यक्रममा कवि तथा गीतकार रमेश श्रेष्ठले भिडियो सार्वजनिक गरेका हुन् । शान्तिको गीतले आम नेपाली जनजीवनलाई छुने विश्वास व्यक्त गर्दै श्रेष्ठले भिडियोमा प्रस्तुत गरिएिको मौलिकपनले नेपाली पहिचान बोकेको बताए ।
गायिका तथा मोडल शान्तिले बागलुङको गलकोटबाट पोखरा आएर गीत सङ्गीतका क्षेत्रमा गरेको सङ्घर्षका चरणबारे स्पष्ट पारेकी थिइन् ।
तत्कालीन परिस्थितिमा सङ्गीतसम्बन्धी औपचारिक ज्ञान नभए पनि रेडियो सुनेकै भरमा सङ्गीतप्रति अनुराग बढेको अनुभव उनले सुनाइन् । जीवन जिउने क्रममा केही समय सङ्गीतबाट टाढिनुपर्दाको कष्टकर समयको स्मरण गर्दै मगरले आफूभित्रको रुचि कुनै पनि कारणले नरोकिने प्रमाणित भएको बताइन् । उनका यसअगि फूल जस्तै मेरो जोवन, जूनतारा, गल्छी झरेसि, बसे पर्खेरलगायतका गीतहरू सार्वजनिक भएका छन् ।
भिडियोमा शान्तिसँगै विजय पुन, चाहना राना मगर र आश्विन राना मगरको अभिनय रहेको छ ।