विशाल र शान्तारानीको ‘स्याउली बजारमा’ पल र कोमल

रंग नेपाल २०८२ मंसिर २९ मा प्रकाशित

काठमाडौं । पछिल्लो समय चर्चामा रहेका गायक विशाल सोनी र शान्तारानी परियारको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । विशाल र शान्तारानी दुवैजना चर्चामा आएको धेरैसमय भएको छैन । यद्यपि उनीहरुको सांगितीक क्षेत्रको संघर्ष दशक बढी छ ।

विशालको नेपाली सांगितीक क्षेत्रमा दशकमाथिको अनुभव छ । उनलाई ७ महिना अघिको ‘मकै बारी दर्याम दर्याम’ गीतले चर्चामा ल्याइदियो ।

यस्तै, गायिका शान्तारानी परियारलाई १ वर्ष अघिको ‘मत ढले ढले’ गीतले चर्चामा ल्याइदियो । यी दुवै गायक र गायिकालाई दर्शकले पछिल्लो समय निकै रुचाइरहेका छन् ।

अहिले भर्खर ‘तानातान हानाहान स्याउली बजारमा’ बोलको गीत सार्वजनिक गरिएको छ । विशाल र शान्तारानीको स्वर रहेको यो गीतको हुकलाइन पनि विशालकै छ । शब्द भने अर्का लोकप्रिय गीतकार नेत्र अर्यालको छ । गीतमा नन्दु परियारले संगीत दिएका छन् । एरेन्ज एचबिएन किस्मतको छ ।

गीतको भिडियोको कुरा गर्दा रमाइलो बनाइएको छ । भिडियोमा नेपाली चलचित्र क्षेत्रका नायक पल शाहले नाचेका छन् । उनलाई मोडल कोमल नेपालीले साथ दिएकी छिन् ।

मोडल कोमलले यसअघि केही म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । यसअघिको अनुभवले पनि अहिलेको गीतमा निकै मिहिनतका साथ काम गरेको कोमलले बताएकी छिन् । साथै, उनले पलसँग काम गर्न पाउँदा खुसी व्यक्त गरेकी छिन् ।

भिडियोमा गायक विशालले पनि मोडलिङ गरेका छन् ।

नवराज उप्रेतीले खिचेको भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । भिडियो मौसम हिमालीले निर्देशन गरेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट