शाहरुखको डंकी अग्रिम बुकिङ उत्साहजनक

रंग नेपाल २०८० पुष २ मा प्रकाशित

मुम्बई । बलिउड अभिनेता शाहरुख खानले २०२३ आफ्ना लागि सर्वाधिक सफल वर्ष हुने बताएका छन् । आफ्नो फिल्म ‘जवान’ले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरेको बेला अर्को फिल्म ‘डंकी’ले त्यही सफलता हासिल गर्ने आशा आफूले गरेको यी अभिनेताले बताएका छन् ।

शाहरुखको फिल्म डंकी २२ डिसेम्बरमा रिलिज हुँदै छ । अहिले यो फिल्मको अग्रिम बुकिङले हेर्दा उनले फेरि अर्को रेकर्ड कायम गर्ने अनुमान गरिएको छ ।

शाहरुखको फिल्म डंकीको अहिले दर्शकले प्रतीक्षा गरिरहेका छन् । यो फिल्मको एक साताअघि नै विश्वव्यापी रूपमा बुकिङ खुलेको थियो । भारतमा यो फिल्मको अग्रिम बुकिङमा मध्यरात तथा बिहान ४ बजेको सो पनि हाउसफुल भएको छ । यो कुराले पनि शाहरुख खान र राजकुमार हिरानीको जोडीलाई ठुलो पर्दामा हेर्न दर्शक निकै उत्सुक छन् भन्ने कुरा पुष्टि हुन्छ । हिरानी थ्री इडियट्स, पीके र सञ्जुजस्ता ब्लकबस्टर फिल्मका लागि परिचित छन् । हिरानी र शाहरुखले पहिलोपटक एउटै प्रोजेक्टमा सँगै काम गरेका छन् ।

डंकीमा तापसी पन्नु, विक्की कौशल, विक्रम कोचर, अनिल ग्रोवर र बोमन इरानी पनि मुख्य भूमिकामा छन् । शाहरुखको डंकी यो क्रिसमस र नयाँ वर्षको अवसर पारेर दर्शकमाझ आउँदै छ । यी दुई चाडका कारण पनि फिल्म डंकीले आउँदा दिनमा अरू थुप्रै व्यावसायिक रेकर्ड बनाउने आशा गरिएको छ ।

डंकीसँगै बक्स अफिसमा प्रभास र प्रशान्त निलको प्यान इन्डिया एक्सन फिल्म सालारसँग भिड्दै छ । यो फिल्म एक दिनपछि अर्थात् २२ डिसेम्बरमा रिलिज हुँदै छ । सालारले अग्रिम बुकिङमा पनि मानिसको राम्रो प्रतिक्रिया पाएको छ । यो फिल्मले अग्रिम बुकिङबाट पनि अहिलेसम्म १ करोड कमाइसकेको छ । चलचित्रमा दर्शकले कमेडी, एक्सन, इमोसन र ड्रामा पनि हेर्न पाउनेछन् । एजेन्सी

धेरै पढिएका

पछिल्ला अपडेट