‘अगस्त्य च्याप्टर १’मा देशकै कथा

रंग नेपाल २०८० फागुन ११ मा प्रकाशित

काठमाडौं । चार वर्षअघि रिलिज फिल्म ‘लभ डायरिज’बाट सौरभ चौधरीले नेपाली फिल्ममा निर्देशकका रुपमा ‘डेब्यू’ गरे । सुशील श्रेष्ठ र रुबिना थापा स्टारर यो फिल्मबाट उनले राम्रै चर्चा पाए । यिनै सौरभ यही फागुन १८ गतेबाट फिल्म ‘अगस्त्यः च्याप्टर १’ लिएर दर्शकमाझ आउँदैछन् ।

सौगात मल्ल, नाजिर हुसेन, निश्चल बस्नेत, प्रमोद अग्रहरिसँगै मलिका महतजस्ता कलाकारको अभिनय रहेको फिल्मले विशेषत मधेसको पृष्ठभूमिमा कथा अगाडि बढाएको छ । फिल्मको टिजर र ट्रेलर हेर्दा पनि सहजै यही अनुमान लगाउन सकिन्छ । तर निर्देशक सौरभ फिल्मले मधेसको मात्र कथा नभएको दाबी गर्छन् । ‘फिल्मको ट्रेलर र टिजर हेर्दा मधेसको कथाजस्तो देखिए पनि यसमा मधेसको कथा नभई समग्र देशको कथा छ । मैले लकडाउन अघि र लकडाउनको समयमा देखेको दुई घटनालाई मर्ज गरेर स्क्रिप्टको कन्सेप्ट बनाएको थिएँ । फिल्म दर्शकका लागि सिनेमाट्रिक छ, उहाँहरुले अहिलेसम्म समाजमा नभनिएका कथा हाम्रो फिल्ममा पाउनुहुनेछ’, सौरभ भन्छन् ।

सौरभले आफूले फरक कथामा फिल्म बनाउन चाहिरहँदा त्यो चाहना ‘अगस्त्य च्याप्टर १’ मा पुरा भएको बताए । ‘मलाई आजको दिनमा निश्चित जनरा भन्दा पनि स्क्रिप्ट कस्तो छ, त्यही अनुसार काम गर्न मनपराउँछु । स्क्रिप्ट युनिक भयो भने निर्देशकलाई पनि काम गर्न मज्जा हुन्छ । एक्सन भन्दा लभस्टोरी खिच्न निकै सजिलो हुन्छ । तर मज्जा चाहिँ एक्सनमै आउँछ । मलाई सस्पेन्स थ्रिलरको कथा बढी मनपर्छ । दर्शकलाई बाँध्न सक्ने किसिमको कथावस्तुमा काम गर्न बढी मजा हुन्छ’, सौरभ खुल्छन् ।

यो फिल्मको दोस्रो भाग अर्थात् ‘अगस्त्य च्याप्टर २’ को कथा पनि उनले तयार पारिसकेका छन् । पहिलो भागले दर्शकबाट कस्तो प्रतिक्रिया पाउँछ त्यही अनुसार दोस्रो भागको काम सुरु हुने उनी बताउँछन् ।

सौरभको अनुभवमा आफ्नो फिल्ममा नाम चलेका कलाकारले अभिनय गरे पनि उनीहरुलाई स्क्रिनमा उतार्न उनलाई गाह्रो भएन । ‘किनभने फ्लोरमा जानुअघि मलाई ब्याकप माइन्डमा थियो । अलिक लाउड देखिएला कि सुनिएला कि भन्ने थियो । तर कुनै पनि क्यारेक्टरलाई स्क्रिनमा उतार्न गाह्रो भएन’, सौरभ भन्छन्, ‘किनभने सिन खिच्नु अघि सरसल्लाह हुन्थ्यो, त्यो हिसाबले मैले सोचे अनुसार नै काम कलाकारले गर्नुभएको छ ।’

डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्ममा विजय बराल, रविन्द्र झालगायतका कलाकारको पनि अभिनय छ ।

फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ । फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट