‘रङ्गेली’मा दर्शकको चाप बढिरहेको देख्दा उत्साहित छु : निर्देशक सुवेदी

रंग नेपाल २०८० चैत २ मा प्रकाशित

काठमाडौं । गत शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘रङ्गेली’ सफलताका साथ दोस्रो हप्तामा प्रवेश गरेको छ । पहिलो हप्ता रिलिज भएका सबै हलहरूमा केही सङ्ख्या कम गरी यस हप्ता पनि रंगेलीलाई शो प्राप्त भएका छन् ।

“पहिलो हप्ताको अन्त्यतिर आइपुग्दा दर्शकको उपस्थिति झन् बढेको थियो । नेपाली चलचित्र हेर्ने दर्शक निकै चलाख हुनुभएको महसुस गरेँ । चलचित्रको प्रतिक्रिया हेरेर मात्र हल पुग्ने निर्णयमा पुग्ने गरेको भेटियो । म निकै उत्साहित छु,” निर्देशक अर्जुन सुवेदीले भने ।

सुवेदीले पहिलो हप्ताको अन्तिम दिन बिहीबार अधिकांश शोहरुमा ८० प्रतिशत बढी अकुपेन्सी रहेको उल्लेख गरे । रिलिजको पहिलो दिनदेखि नै उत्साहजनक व्यापार गरिरहेको रङ्गेलीको शो नेपाल बाहिरबाट पनि आइरहेको सुवेदीले बताए । यो चलचित्र अमेरिका, क्यानडा, जापान र कोरियामा पहिले नै बिक्री भइसकेको थियो । नेपालमा मन पराइएपछि मलेसिया, दुबई, कतार, बहराइन, साउदी, ओमानमा हालै मात्र बिक्री भएको सुवेदीले बताए । अस्ट्रेलिया, युरोप, हङकङ, भारत लगायतका देशहरूमा रिलिजको लागि त्यहाँस्थित वितरकहरूसँग रिलिजको लागि अन्तिम चरणमा पुगेको सुवेदीको भनाई छ । दर्शकबाट चलचित्र केही लामो भएको प्रतिक्रिया पाएपछि २१ मिनेट घटाइएको थियो । चलचित्रको रनटाइम कम भएपछि दर्शकले झनै मनोरञ्जन गरेको निर्देशक सुवेदीको बुझाई छ ।
अभिनेता दयाहाङ राईलाई एकै प्रकारका चरित्रमा देखिरहेको समयमा यो चलचित्रमा फरक भूमिकामा पाउँदा दर्शकले तारिफ गरेका छन् ।

रङ्गेलीमा दयाहाङ राईसँगै मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सहनिर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति रहेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट