‘बोक्सीको घर’को ‘बोक्सी लुक्स’ सार्वजनिक

रंग नेपाल २०८० चैत ११ मा प्रकाशित

काठमाडौं । आगामी २०८१ वैशाख १४ गतेबाट रिलिज हुने फिल्म ‘बोक्सीको घर’को ‘बोक्सी लुक्स’ सार्वजनिक गरिएको छ ।

रंगहरुको पर्व फागु पूर्णिमाको अवसर पारेर आइतबार राजधानीमा एक कार्यक्रमबीच बोक्सी लुक्स सार्वजनिक गरिएको हो । लुक्सलाई फिल्मकी प्रस्तुतकर्ता तथा अभिनेत्री केकी अधिकारी र पूर्वमिस नेपाल तथा अभिनेत्री माल्भिका सुब्बाले सार्वजनिक गरे । ’बोक्सी लुक्स’ मा केकीलाई फरक गेटअपमा प्रस्तुत गरिएको छ ।

प्रस्तुतकर्ता तथा अभिनेत्री केकीले यसअघि सार्वजनिक टिजर र गीतमा नदेखाइएको ‘बोक्सी लुक्स’लाई फागु पूर्णिमाको अवसर पारेर सार्वजनिक गरिएको बताइन् । ‘टिजर र गीतमा सस्पेन्सका रुपमा राखिएको बोक्सी लुक्सलाई प्रचार प्रसारको प्रमुख माध्यम बनाउन सार्वजनिक गरेका हौं’, उनले भनिन् ।

फिल्मको टिजर र सार्वजनिक गीत ‘जिन्दगीको कथा, यता न उता’ले राम्रै चर्चा पाइरहेको छ । यहि परिप्रेक्ष्यमा सार्वजनिक ‘बोक्सी लुक्स’ले अझ बढी चर्चा पाउनेमा केकी विश्वस्त छिन् ।

लेखक तथा निर्देशक सुलक्षण भारतीले जल्दोबल्दो सामाजिक विषयवस्तुमा फिल्म बनाइएकाले नेपाली दर्शकले फरक स्वाद पाउने दाबी गरे ।

फिल्म आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि रहेर बद्री अधिकारीले फिल्म निर्माण गरेका हुन् । बद्री अभिनेत्री केकीका पिता हुन् । केकी अधिकारी फिल्मको प्रस्तुतीमा निर्माण भएको फिल्ममा सुलक्षण भारतीको लेखन तथा निर्देशन छ ।

अभिनेत्री तथा निर्मात्री केकीले सामाजिक थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने बताइन् । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर फिल्म निर्माण गरिएको उनको भनाइ छ ।

फिल्म नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शन गर्नुका साथै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने योजनामा केकी छिन् । फिल्मका कार्यकारी निर्माता राज घिमिरे हुन् । फिल्ममा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय छ ।

लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको फिल्ममा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मसले फिल्मको वितरण अधिकार लिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट