ऋतिक रोशनको ‘कृष ४’ बन्ने पक्का, सुटिङ कहिले ?

रंग नेपाल २०८० चैत १४ मा प्रकाशित

मुम्बई । बलिउडको लोकप्रिय सुपरहिरो फ्रेञ्चाइजी ‘कृष’को चौथो संस्करणको तयारी सुरु भएको छ । फिल्मका निर्देशक राकेश रोशन ‘कृष ४’लाई फ्लोरमा लैजानका लागि तयारी अवस्थामा छन् ।

राकेश र उनका अभिनेता छोरा ऋतिक रोशन ‘वार २’को छायांकन पूरा हुनासाथ ‘कृष ४’मा व्यस्त हुनेछन् ।

‘कृष ४’का लागि आफूले गर्नुपर्ने तयारीका लागि ऋतिकले समय छुट्याइसकेका छन् ।

ऋतिक र राकेश यसपटक दर्शकलाई उनीहरुको सोचाई र आशा भन्दापनि परको कथालाई देखाउने योजनामा छन् । त्यहीकारण फिल्मको स्क्रिप्टमा निकै मेहनत गरेका छन् ।

ऋतिक सन् २०२५ मा ‘कृष ४’को सुटिङ सुरु गर्ने योजनामा छन् । फिल्मको प्लटलाई लिएर धेरै जानकारी बाहिर आएको त छैन, तर यसपटक फिल्ममा अन्तरिक्षको यात्रालाई प्राथमिकता दिएको फिल्म निकट स्रोतले बताएको छ ।

यसअघि फिल्मको कथामा ‘कृष ४’ ले अन्तरिक्ष यात्राको दायरालाई पत्ता लगाउने बताइएको थियो । जसका लागि फिल्मको टिमले गहन अध्ययन गरिरहेको छ । त्यहीकारण सुपरहिरोको यात्रालाई अगाडि बढाउने योजनासहित कथा खोज्नमा फिल्म निर्माण टिमले लामो समय बिताइसकेको छ ।

फिल्म फ्रेञ्चाइजीको सुरुवात फिल्म ‘कोई मिल गया’बाट भएको थियो । जसमा प्रीति जिण्टा र रेखा प्रमुख भूमिकामा थिए । यसको दोस्रो सिक्वेलका रुपमा ‘कृष’मा ऋतिकका साथ प्रियंका चोपडा प्रमुख भूमिकामा थिइन् । ‘कृष ३’मा पनि यो जोडी थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट