‘पुजार सार्की’को टिजर रिलिज

रंग नेपाल २०८१ वैशाख १ मा प्रकाशित

काठमाडौं । वर्ष २०८१ को लागि सर्वाधिक प्रतीक्षामा रहेको नेपाली चलचित्र ‘पुजार सार्की’को टिजर रिलिज गरिएको छ ।

शुक्रबार रिलिज टिजरमा तीन सुपरस्टार अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह सहित दुई अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुलाई देखिँदै आएको भन्दा फरक भूमिकामा प्रस्तुत गरिएको छ ।

आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने यस चलचित्रको १ मिनेट १४ सेकेन्डको टिजरमा सबै प्रमुख कलाकारहरूलाई बराबर स्थान दिइएको छ । टिजरको लम्बाइ निकै छोटो हुन्छ, तर दिनेश निर्देशक राउतले सबै कलाकारलाई उत्तिकै महत्वका साथ स्थान दिन सफल छन् ।

यो टिजरमा अभिनेता आर्यन पुजारीको भूमिकामा देखिएका छन् । डोली चढेर आउँदै गरेका उनी केही सामन्त लाग्छन् तर अर्को दृश्यमा भने मैत बहादुर बनेका प्रदीप खड्कासँगै भागिरहेका देखिन्छन् । एक दृश्यमा भुईँमा लडेर माफी मागिरहेका देखिन्छन्। आर्यनको भूमिकाले उनको पात्रको चारित्रिक दृष्टिकोणलाई बहु आयामिक देखाउँछ ।

दमाहा बजाउँदै गरेका प्रदीप खड्का बाजा बजाउने काम गरेको टिजरमा देखिन्छन्। उनले युवतीलाई मन पराएको र केही क्षणमा गाउँलेले आर्यन सहित लखेटिरहेको देखिन्छ । उनको भूमिकाले जातीय विभेदलाई दर्साएको छ। केही क्षणमा पल शाह देखिन्छन्। उनले भरुवा बन्दुक चलाएका छन् । उनले को माथि बन्दुक प्रहार गरेको त्यो भने खुलेको छैन् । टिजरका दृश्य सम्पादन गर्दा आर्यन र प्रदीप माथि बन्दुक हानी रहेको देखिएता पनि पलको भूमिका क्रान्तिकारी रहेको अनुमान गर्न सकिन्छ ।

टिजरमा अभिनेत्रीहरू बराइली र लिम्बुलाई गाउँले परिवेशका युवतीहरूको भूमिकामा प्रस्तुत गरिएको छ । यस चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि यस चलचित्रमा अभिनय रहेको छ । यो टिजरले कलाकारहरूका लुक्स र पोस्टरबाट भएको चर्चालाई थप उत्साहजनक बनाएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट