‘एक्लो’मा प्रदीपसँगै बेलायती अभिनेता जेमी बेकनको अभिनय रहने

रंग नेपाल २०८१ जेठ ८ मा प्रकाशित

काठमाडौं । प्रदीप शाहीले निर्देशन गर्न लागेको सिनेमा ‘एक्लो’मा बेलायती अभिनेता जेमी बेकनको अभिनय रहने भएको छ ।

सिनेमामा उनको अभिनय रहने तय भएको निर्देशक शाहीले बताए । बेकनको अभिनय रहने खबर सार्वजनिक गर्न पाउँदा गर्व लागेको भन्दै उनले सामाजिक सञ्जालमार्फत खुशीसमेत साटेका छन् ।

यो फिल्ममा अभिनेता प्रदीप खड्का, विजय लामा, सुनिल थापा, एवनराज उप्रेती, अभिनेत्री बेनिशा हमाल, कविता नेपाली, दीया पुनलगायत अनुबन्धित भइसकेका छन् ।

निर्देशक शाहीका अनुसार अनुसार नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने उद्धेश्यका साथ ‘एक्लो’ निर्माण गर्न लागिएको छ ।

साइन्स फिक्सन जनरामा बन्ने फिल्ममा बेकनलाई निर्माताका रूपमा पनि साइन गरिएको जनाइएको छ । नेपाली र बेलायती फिल्मबीचको सम्बन्ध निर्माण गर्ने उदेश्यले त्यसो गरिएको जनाइएको छ । जेमी बेकन नेटफ्लिक्स शृंखला ‘ह्वाइट लाइन्स’ र फिचर फिल्म ‘ब्राइटन’मा रूचाइएका छन् ।

‘एक्लो’ निर्देशक शाहीले बेलायतमा फिल्म मेकिङ पढेका हुन् । त्यहाँ केही सर्टफिल्म र सिरिजमा काम गरेपछि उनी नेपाली फिल्म निर्देशनमा होमिएका थिए । यसअघि उहाँले ‘गोर्खाः विनिथ द ब्रेभरी’ र ‘अन्तिम संस्कार’ निर्देशन गरेका थिए ।

शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने चलचित्रमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहने छ । हाल सेट डिजाइनको काम र प्री प्रोडक्सनको सुरुवात भइरहेको कार्यकारी निर्माता क्षितिज सुवेदी खत्रीले बताए ।

निर्माता खत्रीका अनुसार छायांकनका लागि नेपालमा नै पहिलो पटक अन्तरीक्षमा जाने रकेटको निर्माणको तयारी भइरहेको छ । सिनेमा साउनको अन्तिमबाट छायांकनमा जाने तयारीमा रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट