बेलायतमा ’नेपाली फिल्म फेस्टिभल इन लन्डन’ हुने

रंग नेपाल २०७९ जेठ १६ मा प्रकाशित

थर्ड आईको आयोजनामा बेलायतको राजधानी लन्डनमा ५ दिने ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२२’ आयोजना हुने भएको छ । शनिबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महोत्सवको नेपाल व्यवस्थापनको जिम्मा लिएको संगीक्षा फिल्मस् इन्टरटेनमेन्टका अध्यक्ष मनोज केसीले महोत्सवमा १० वटा चलचित्र प्रदर्शन गरिने जानकारी दिए ।

’हामीले नेपाली परिवेश, नेपाललाई चिनाउने चलचित्रलाई लन्डनमा देखाउने छौँ । यसले नेपाली चलचित्रको बजार विस्तारमा त टेवा पुर्‍याउँछ नै नेपाली कला, संस्कृतिलाई समेत प्रवर्द्धन गर्छ,’ अध्यक्ष केसीले भने । नेपाली चलचित्र के–कस्ता बनिरहेका छन् भन्ने बारेमा प्रवासी दर्शकलाई थाहा दिन र नयाँ-नयाँ स्वाद बोकेका नेपाली चलचित्रलाई देखाउने उद्देश्यले महोत्सवमा आयोजना गर्न लागेको उनको भनाई छ ।

अध्यक्ष केसीका अनुसार, महोत्सवको अन्तिम दिन चलचित्रकर्मीहरूलाई सम्मानित समेत गरिनेछ । थर्ड आईका प्रमुख विकास देवकोटाको सक्रियतामा आयोजना हुन लागेको महोत्सवमा नेपालबाट करिब ४० जनाको हाराहारीमा चलचित्रकर्मी लगायत सहभागी हुनेछन् । महोत्सव सेप्टेम्बरमा हुने आयोजकले जानकारी दिएको छ । आयोजकले महोत्सवमा प्रदर्शन गरिने चलचित्रहरुको छनोट प्रक्रिया सुरु गरिएको बताएको छ ।

थर्ड आईका नेपाल च्याप्टर प्रतिनिधि हरि सिलवालले फेस्टिभललाई सभ्य र भव्य बनाउने गरी तयारी भइरहेको जानकारी गराएका थिए । ‘विदेशमा हुने नेपाली कार्यक्रम अपेक्षानुरुप हुने नगरेको इतिहास छ । हामी यो कार्यक्रममा त्यो इतिहास बदल्ने प्रयास गर्छौँ,’ उनले भने, ‘देशबाहिर कार्यक्रम गर्दा आयोजकले मानिसहरू अवैधानिक रुपमा छाड्ने गरेको पनि गुनासो छ । हामीले त्यसो गरेको पाइएमा जे सजाय पनि भोग्न तयार छौँ ।’

धेरै पढिएका

पछिल्ला अपडेट