दोलखामा फिल्म सिटी र बनेपामा इन्डोर स्टुडियो निर्माण गरिने

रंग नेपाल २०७९ जेठ १६ मा प्रकाशित

नेपाल सरकारले यसपटकको बजेटमा पनि फिल्म सिटी र इन्डोर स्टूडियो निर्माण गर्ने विषयलाई समेटेको छ । आइतवार अर्थमन्त्री जर्नादन शर्माले आर्थिक वर्ष २०७९/८० का लागि संसद भवनमा प्रस्तुत गरेको १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेटमा दोलखामा अन्तर्राष्ट्रिय स्तरको फिल्म सिटी र बनेपामा अत्याधुनिक इन्डोर स्टूडियो निर्माण गरिने उल्लेख छ ।

अर्थमन्त्री शर्माले निजी तथा सरकारी साझेदारीमा दोलखामा फिल्म सिटी बन्ने बताए । आगामी आर्थिक वर्षमा फिल्म सिटी निर्माणको काम अगाडि बढ्ने उनको भनाई छ । त्यस्तै, काभ्रेको बनेपामा सुविधा सम्पन्न इन्डोर स्टूडियो निर्माणका लागि बजेट विनियोजन गरिएको अर्थमन्त्री शर्माले बताए । फिल्म सिटी र स्टूडियोका लागि छुट्याइएको बजेटको आकार भने खुलाइएको छैन ।

यसैगरी नेपाली कला, भाषा र मौलिकता झल्किन गीत तथा चलचित्र सिर्जना गर्ने सर्जकलाई प्रोत्साहन गर्नुका साथै चलचित्र तथा गीतसंगीतका सर्जकलाई सम्मान गर्ने पनि सरकारले बजेटमार्फत् घोषणा गरेको छ । हरेक वर्ष झैं यसपटकको बजेट पनि चलचित्र क्षेत्रका लागि निराशाजनक देखिएको छ । फिल्म सिटी र स्टूडियोबाहेक चलचित्र क्षेत्रका अन्य समस्या बजेटमा सम्बोधन भएको छैन ।

धेरै पढिएका

पछिल्ला अपडेट