कान्समा पहिलो पटक नेपाली चलचित्रले जित्यो अवार्ड

रंग नेपाल २०७९ जेठ १६ मा प्रकाशित

विश्वको प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा अबिनाश विक्रम शाह निर्देशित चलचित्र ‘लोरी’ले अवार्ड जितेको छ । पहिलो पटक नेपाली चलचित्रले कान्समा अवार्ड जितेको हो । चलचित्रले जुरीबाट ‘स्पेसल मेन्सन अवार्ड’ प्राप्त गरेको हो । यो चलचित्र सर्ट फिल्म विधामा पाम डी अरका लागि प्रतिस्पर्धामा थियो । चलचित्रले जितेको अवार्ड निर्देशक शाहले कान्सको स्टेजमा चढेर उचालेका थिए ।

कान्सको अन्तिम दिन दर्शकहरुका लागि चलचित्रको स्क्रिनिङ गरिएको छ । चलचित्र प्रदर्शनपछि कलाकारदेखि प्राविधिकसम्मको प्रशंसा भएको जानकारी प्राप्त छ । कान्समा ‘लोरी’ले १ सय ४० देशबाट सहभागी भएका चलचित्रमध्येबाट उत्कृष्ट ९ मा आफूलाई उभ्याएको थियो । करीब १५ मिनेटको चलचित्रले नेपालको पित्तृसत्तात्मक समाजमा विद्यामान कुरीतिलाई उठान गरेको छ ।

बालविवाहको कथा भन्ने चलचित्रमा एउटी आमाले आफ्नी १२ वर्षकी छोरीलाई शान्त बनाउन लोरी सुनाउँछिन् । जब लोरी सकिन्छ र छोरी होसमा आउँछिन् तब वास्तविकता बेग्लै भइसकेको हुन्छ । मुख्यतः तीन कलाकार अंकिता यादव, सुजिता साह र प्रीति झाको अभिनय रहेको चलचित्रको पटकथा र संवाद निर्देशक शाह स्वयंले लेखेका हुन् भने छायाँकार उज्वलकुमार बस्ताकोटी हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट