वामदेवको पार्टीबाट सात दिनमै वामदेव नै निष्काशित

रंग नेपाल २०७९ असार १८ मा प्रकाशित

काठमाडौँ । पार्टी घोषणा गरेको सात दिनमै नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम निष्कासन भएका छन् ।

अभियानमा आवद्ध चार समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले गौतममाथि ५ बुँदे आरोप लगाउँदै निष्काशन गरिएको जनाएको हो ।

अभियानले असार ११ मा गौतमको नेतृत्वमा ललितपुरमा दोस्रो भेला गरेको थियो ।

भेलाले गौतमको नेतृत्वमा राष्ट्रिय एकता अभियान अघि बढाउने निर्णय गरेको थियो ।

शनिबार सतुंगलस्थित एक पार्टी प्यालेसमा चार दलका शीर्ष नेताको बैठकले गौतमलाई निष्कासन गरी सचिवालय सदस्य युवराज सफलको संयोजकत्वमा ११ सदस्यीय सचिवालय समिति गठन गरेको छ ।

उनीहरुको निर्णयमा भनिएको छ, ‘नेकपा एकता राष्ट्रिय अभियानका केन्द्रीय संयोजक कमरेड वामदेव गौतममाथि अभियानमा आवद्ध प्रमुख चार पार्टी समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी) र आम नेपाली पार्टीले निम्न संयुक्त पाँच बुँदे आरोप पत्र लगाउँदै संयोजकलाई आजकै मितिदेखि नेकपा एकता राट्रिय अभियानको संयोजकबाट निष्कासन गरी अभियान सचिवालय सदस्य युवराज सफललँई संयोजकको जिम्मेवारी दिने निर्णय गरियो ।’

गौतमाथि यी पाँच वटा आरोप लगाइएको छः

१.सांगठनिक अराजकता, निरङकुश, तानाशाही शैली, चरम अवसरवादी चरित्र र अराजनीतिक व्यवहार प्रस्तुत गरिएको ।

२.अहंकारवादी सोच र एकलौटी निर्णय गरिएको ।

३. जालझेल, छलछाम, षड्यन्त्र र तिकडमबाजी कार्यशैली अपनाइएको ।

४. नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध दलहरुको आडमा शक्ति बनाई सो शक्तिको चरम दुरुपयोग गरी उल्लेखित शक्तिहरुलाई सिध्याउने गतिविधि गरिएको ।

५. सम्पुर्ण बामपंथी तथा समाजवादी शक्तिलाई बृहत कम्युनिष्ट एकतामा जोड्ने योजना बमोजिम नेकपा एकता राष्ट्रिय अभियान गठन गरिएकोमा संयोजक कमरेड बामदेव गौतमले सो निर्धारित उद्धेश्य विपरीत अभियानलाई सत्ता, शक्ति, पद प्राप्तिको लागि बार्गेनिङको माध्यम बनाएको ।

धेरै पढिएका

पछिल्ला अपडेट