‘गोर्खाः बिनिथ द ब्रेभरी’ ले बेलायतबाट प्रदर्शन थाल्दै

रंग नेपाल २०७९ साउन १२ मा प्रकाशित

काठमाडौँ । नेपाली फिल्म ‘गोर्खाः बिनिथ द ब्रेभरी’ प्रदर्शनमा आउने भएको छ । शुक्रवारबाट बेलायतका विभिन्न सहरमा फिल्म प्रदर्शन हुन लागेको निर्देशक प्रदीप शाहीले जानकारी दिए ।

गोर्खाहरूका लागि पहिलोपटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएकाले फिल्मलाई सबैभन्दा पहिला गोर्खा सैनिक बस्ने देशमा प्रदर्शन गर्न लागिएको उनको भनाइ छ । यो फिल्म सेप्टेम्बरदेखि फल्कल्यान्ड आइल्यान्डमा पनि प्रदर्शन हुने निश्चित भएको छ ।

फिल्मले उठाएको ब्रिटिस आर्मीसँगको ऐतिहासिक कथावस्तुका कारण बीएफबीएस सिनेमाघर युके आर्मी सिनेमामा पनि फिल्म प्रदर्शन हुने निर्देशक शाहीले बताए ।

आगामी २४ भदौबाट नेपालमा प्रदर्शनमा आउन लागेको फिल्ममा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाहीलगायतको अभिनय छ ।

फिल्मको कथा निर्देशक शाही आफैंले लेखेका हुन् । लामो समयदेखि बेलायतमा बसेर फिल्म बनाउँदै आएका उनले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितिसकेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट