शान्तिश्री परियारको ‘छम्म छम्म नाचौँ न’ सार्वजनिक

रंग नेपाल २०७९ साउन १४ मा प्रकाशित

काठमाडौँ । गायिका शान्तिश्री परियार तथा सारिका घिमिरेको स्वरमा तयार भएको नयाँ तीज गीत ‘छम्म छम्म नाचौँ न’ को म्युजिक भिडियो शुक्रवार सार्वजनिक गरिएको छ ।

काठमाडौंमा आयोजित एक समारोहमा सञ्चारकर्मी गीता अधिकारीको शब्द तथा योगेशकाजीको संगीत र संगीत संयोजनको उक्त गीतको भिडियो सार्वजनिक भएको हो ।

गायिका ज्ञानु राणाको प्रमुख आतिथ्यता तथा संगीतकार राजु सिंह, सन्तोष श्रेष्ठ, साहित्यकार शैलेन्द्र चापागाईं आदिको आतिथ्यतामा आयोजित समारोहमा उक्त भिडियो विमोचन गरिएको हो ।

ओएसआर डिजिटलको यूट्युब च्यानलमार्फत सार्वजनिक भएको उक्त गीतको भिडियो नारायण रिजालको निर्देशनमा बनेको हो ।

रोशन बुढाथोकीद्वारा कोरियोग्राफी गरिएको भिडियोमा रश्मी भट्ट, सारिका घिमिरे, रेनुका रिजाल, सुस्मिता लामा, संगीता श्रेष्ठ, आरती थापा मगर, सुस्मिता पौडेल, सपना रिमाल, माया थापा आदि कलाकारले अभिनय तथा नृत्य गरेका छन् । भिडियोमा ६० जनाभन्दा बढी नृत्य कलाकारलाई प्रयोग गरिएको छ ।

राहुल राईको छायांकन र विष्णु शर्माको सम्पादन रहेको भिडियोको पोस्ट प्रोडक्सन शिव कैलाश कला मन्दिरले गरेको हो ।

धेरै पढिएका

पछिल्ला अपडेट