‘भागी भागी नहिँड…’ सार्वजनिक

रंग नेपाल २०७९ कार्तिक १५ मा प्रकाशित

काठमाडौं । गायक गणेश थापाको अर्को नयाँ गीत ‘भागी भागी नहिँड…’ को भिडियो सार्वजनिक गरिएको छ । दशैंअघि आफ्नो पछिल्लो गीत बजारमा ल्याएका गायक थापाले फेरि यतिबेला यो नयाँ गीत ल्याएका हुन् । यो गीतको भिडियो बुढासुब्बा डिजिटलबाट रिलिज गरिएको छ ।

आधुनिक तथा पप शैलीको गीतलाई सुदन लुइँटेलले लेखेका हुन् । जसमा नरेन्द्र प्यासीको संगीत, बिनोद भुजेलको संगीत संयोजन र कुमार केसीको मिक्सिङ तथा रेकर्डिङ छ । विलक्षण क्रियसनको म्यानेजमेन्टमा तयार भएको यो भिडियोमा अभिनेताद्वय गजित बिष्ट र श्रीदेव भट्टराई, गायिका तथा मोडल सञ्चालकर्मी सरिता भारतीको मुख्य भूमिका छ । सरितासँग गजित र श्रीदेवको त्रिकोणात्मक प्रेम कथा जस्तो देखिने भए पनि यसको कथा फरक रहेको गायक गणेश थापाले बताए ।

हास्य प्रधान भिडियोले दर्शकको मन जित्ने उनको विश्वास छ । भिडियोको बाँकी कलाकारमा सुवास खड्का, रोशनी श्रेष्ठ, आशिष नेपाल र नुर मुहम्मद रहेका छन् । भिडियोलाई डब्बु क्षत्रीले निर्देशन गरेका हुन् । परिवारको सदस्यका कारण प्रेममा आउने समस्या र संघर्षलाई आफूले यो गीति भिडियोको कथामा उतारेको निर्देशक क्षेत्रीले बताए ।

चलचित्रका छायाँकार दिब्यराज सुवेदीले यो भिडियोको छायाँकन गरेका हुन् । जसमा प्रिया श्रेष्ठको सृँगार, बीरेन्द्र भाट ‘बिपिन’को सम्पादन तथा रँग संयोजन रहेको छ । सवला थापाले निर्माण गरेको यो गीत र भिडियोले यतिबेला राम्रो प्रतिक्रिया पाएको गायक गणेश थापाले बताएका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट