कर्णालीमा नेपाल–युरोपियन युनियन चलचित्र महोत्सव शुरु

रंग नेपाल २०७९ कार्तिक २० मा प्रकाशित

कर्णाली । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा नेपाल–युरोपियन युनियन चलचित्र महोत्सवको ११औँ संस्करण शुरु भएको छ । महोत्सवको उद्घाटनपछि नेपालस्थित युरोपेली युनियनको डेलिगेजनकी कार्यवाहक प्रमुख डा जोएले हिभोनेटले भनिन् , “फिल्म महोत्सवले नेपाली–युरोपेली दुई समाजको आपसी समझदारीलाई प्रवद्र्धनमात्र गर्ने छैन, यसले सांस्कृतिक–सामाजिक सम्बन्धलाई पनि प्रगाढ बनाउँदै लैजानेछ ।”

उनले कर्णालीमा पहिलो चोटीको प्रयास भएको जनाउँदै यहाँको सांस्कृतिक, पर्यटकीय र सामाजिक समस्यालाई पनि चलचित्रका माध्यमबाट देखाउन सकिने बताइन् । जोएलेका अनुसार इयूका २७ सदस्य राष्ट्रहरूले पनि महोत्सवमा प्रतिबद्धतासहित हस्ताक्षर गरेका छन् । यहाँको सहयोग सद्भावले कर्णालीमा अर्कोपटक पनि आउने प्रतिबद्धता उनले गरिन् ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति डा नन्दबहादुर सिंहले यो फिल्म महोत्सवले कर्णालीको इतिहास, पुरातत्व र सांस्कृतिक अध्ययन तथा अनुसन्धानमा ठूलो सहयोग पुग्ने बताइन् । महोत्सवले इयू र नेपाली नागरिकबीचको सम्बन्ध कायम हुने भन्दै उनले यसबाट सांस्कृतिक आदान–प्रदान हुने जनाइन् ।

नेपालका लागि युरोपेली युनियनको डेलिगेशनका प्रेस तथा सूचना अधिकारी अम्बर मैनालीले यो वर्षको चलचित्र भौतिक र अनलाइन माध्यम गरी मिश्रित विधिबाट महोत्सव आयोजना गरिएको बताए । कात्तिक ११–१५ गतेसम्म चलचित्र विकास बोर्ड काठमाडौं भइसकेको बताउँदै उनले अब सुर्खेतमा कात्तिक १९–२२ गतेसम्म पाँच युरोपियन र तीन नेपाली चलचित्र प्रदर्शन गरिने जनाए ।

महोत्सव उद्घाटनको दिन मध्यपश्चिम विश्वविद्यालयको हलमा अरस्टी रियाहीले निर्देशन गरेको ‘अस्कर एवं लिली’ फिल्म प्रदर्शन भएको छ । दोस्रो दिन १३ युरोपियन चलचित्रमध्ये लोरेन्ट मिचेली र ओस्कारले निर्देशन गरेको ‘लोला’ किरण श्रेष्ठले निर्देशन गरेको ‘यट द अनदर विन्टर’ प्रदर्शन गरिनेछन् ।

तेस्रो दिन मुनिका सीमेट्सले निर्देशन गरेको ‘द लिटल कम्रेड’, रीता हुतानेनले निर्देशन गरेको ‘गड्स अफ मालेन्बेक’ र विशाल मगरले निर्देशन गरेको गोर्खा गल्र्स’ महोत्सवमा देखाइने छन् । चौथो दिन मिसा क्याम्पले निर्देशन गरेको ‘रोमिज सलुन्’ र चलचित्र महोत्वसका आकर्षणहरूमध्ये सुजित भण्डारीले निर्देशन गर्नुभएको एक ‘ऐना झ्यालको पुतली’ महोत्सवको समापन चलचित्र हुने जनाइएको छ ।

डेलिगेसनका पे्रस तथा सूचना अधिकारी मैनालीले सुर्खेतमा चलचित्रकर्मी सुजित बिडारीले कर्णाली प्रदेशका चलचित्रका विद्या तथा चलचित्रकर्मीहरूलाई प्रशिक्षण कक्षा सञ्चालन गर्ने जानकारी दिए । कोभिड महामारीका कारण दुई वर्षको अन्तरालपछि सिनेमा हलमा युरोपका १३ उत्कृष्ट चलचित्रका साथै तीन नेपाली चलचित्र प्रस्तुत गर्न पाउनुले अत्यन्तै उत्साहित बनाएको आयोजकले बताएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट