अक्षय कुमारको आगामी फिल्म यौन शिक्षामा आधारित

रंग नेपाल २०७९ मंसिर २० मा प्रकाशित

एजेन्सी । चर्चित भारतीय अभिनेता अक्षय कुमारको आगामी फिल्म यौन शिक्षामा आधारित रहने बताइएकाे छ ।

अक्षयले आफ्नो फिल्म करियरमा धेरै रोमान्टिक, कमेडी र एक्शनले भरिपूर्ण फिल्ममा काम गरेका छन् । यससँगै उनले सामाजिक विषयवस्तुमा पनि फिल्म बनाएका छन् ।

यसैबीच अब अक्षय सामाजिक विषयवस्तुमा आधारित अर्को फिल्म लिएर आउँदैछन् । उनको यो फिल्म यस्तो विषयमा बनेको छ जसमा मानिसहरु बोल्न हिचकिचाउँछन् ।

भारतीय सञ्चार माध्यमका अनुसार हालै साउदी अरबमा भएको रेड सी फिल्म फेस्टिभलमा सहभागी भएका अक्षयले यौन शिक्षाको विषयमा फिल्म बनाउन लागेको बताएका हुन् । साथै उनले उक्त विषय निकै महत्वपूर्ण रहेको बताएका छन् ।

अक्षयले भनेका छन्, ‘यौन शिक्षा निकै महत्वपूर्ण विषय हो । हामी स्कूलमा सबै प्रकारका विषयहरू अध्ययन गर्छौं र यौन शिक्षा एउटा विषय हो जुन संसारका सबै स्कूलहरूमा पढाइनुपर्छ भन्ने मेरो इच्छा हो। यो मेरो उत्कृष्ट फिल्म मध्ये एक हुनेछ ।’ फिल्मको बारेमा अक्षयले कुरा गर्दै आगामी वर्षको अप्रिल–मे तिर रिलिज हुने बताएका छन् ।

अक्षयको वर्कफ्रन्टको कुरा गर्ने हो भने सन् २०२२ मा उनका पाँचवटा फिल्म रिलिज भएका थिए । जुन ‘बच्चन पाण्डे’, ‘सम्राट पृथ्वीराज’, ‘रक्षा बन्धन’, ‘कठपुतली’ र ‘राम सेतु’ हुन् । तर, उनको कुनै पनि फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्न सकेको छैन । हाल अक्षय ‘सेल्फी’, ‘गोरखा’, ‘ओएमजी २’, ‘क्याप्सुल गिल’, ‘सोराराई पोटरु’ मा काम गर्दैछन् । अब उनको पाइपलाइनमा सामाजिक विषयबस्तुमा आधारीत अर्को फिल्म थपिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट