काठमाडौं, १५ माघ । रवि लामिछानेले पुन: नेपाली नागरिकता लिएका छन् । नागरिकता प्राप्तिका लागि आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका लामिछानेले नागरिकता पुन: कायम गराएका हुन् ।
लामिछानेले नागरिकता पुन: प्राप्तिका लागि आज जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दर्ता गरेका थिए । उनले आज दिउँसो नागरिकता लिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् ।
आइतबार बिहान साढे ११ बजे कार्यालय पुगेका लामिछानेले दिउँसो सवा २ बजेतिर नागरिकताको प्रमाणपत्र ग्रहण गरेका हुन् ।
सर्वोच्च अदालतले शुक्रबार नेपाली नागरिकता पुनस् प्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै सांसद पद बदर गरेको थियो । सो फैसलासँगै उनले सांसद, मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिको पद गुमाएका थिए ।
उनले आज प्रक्रिया पूरा गरी पुन: नागरिकता लिएका हुन् । अमेरिकी नागरिकता त्यागे पनि लामिछानेले नेपाली नागरिकताको पुन: प्राप्तिका लागि निवेदन दिएका थिएनन् । लामिछाने गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।