‘कपन दर्पण’ लोकार्पण

रंग नेपाल २०७९ माघ २१ मा प्रकाशित

काठमाडौं । कपन साहित्य समाजद्वारा प्रकाशित ‘कपन दर्पण’ कविता विशेषाङ्क लोकार्पण गरिएको छ । बूढानीलकण्ठ नगरपालिका–१० स्थित साहित्य समाजको कार्यालयमा शुक्रबार सो कविता विशेषाङ्क लोकार्पण गरिएको हो ।

बूढानीलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीले कपन दर्पण लोकार्पण गर्दै साहित्यिक रचना गर्ने र यस्ता कार्यक्रलाई अझ अगाडि बढाउनुपर्ने धारणा राखे। समाजलाई सकारात्मक परिवर्तनतर्फ लान साहित्य जगतको महत्वपूर्ण भूमिका रहने भएका कारण यस क्षेत्रलाई विशेष ध्यान दिनुपर्ने उनले बताए ।

कार्यक्रममा ‘कसास यात्री स्मृति सम्मान, २०७७’ वरिष्ठ साहित्यकार प्राडा अभि सुवेदीलाई र ‘कसास यात्री स्मृति सम्मान, २०७८’ वरिष्ठ साहित्यकार प्राडा गार्गी शर्मालाई प्रदान गरिएको थियो । साहित्यकार शर्माले सम्मानित हुन पाएकामा खुशी व्यक्त गरे । उनले यस्ता खालका सम्मानले आगामी दिनमा नयाँ कृति लेख्न प्रोत्साहन गरेको बताए ।

कपन साहित्य समाजका परिकल्पनाकार एवम् संस्थापक संरक्षक साहित्यकार अन्वेषक स्व पूर्णप्रकाश नेपाल यात्रीको स्मृतिमा स्थापित कसास यात्री स्मृति सम्मान प्रदान गर्दै आएको छ । यस अघि २०७५ मा प्रा दयाराम श्रेष्ठ सम्भव र २०७६ सालमा संस्कृतिविद् तेजेश्वर बाबु ग्वङ्ग सम्मानित भएका थिए । ‘कपन दर्पण’मा एक सय एघार रचना समेटिएका छन् । सो अवसरमा साहित्य समाजका अध्यक्ष गणेशकुमार मिश्रले विगतदेखि नै साहित्यिक रचना समावेश गर्दै आएको कपन दर्पणले आगामी दिनमा पनि निरन्तरता दिने बताए ।

धेरै पढिएका

पछिल्ला अपडेट