भ्यालेन्टाइन सप्ताह सुरु, आज रोज डे

रंग नेपाल २०७९ माघ २४ मा प्रकाशित

काठमाडौं । फेब्रुअरी महिनालाई प्रेमिल जोडीहरुको महिना मान्ने गरिन्छ । उनीहरुका लागि फेब्रुअरी महिना निकै विशेष हुन्छ । फेब्रुअरीको दोस्रो साता अर्थात आजबाट प्रेमीहरु एकआपसमा प्रेम साटासाट गर्छन् । माया गर्नेहरूका लागि आजबाट हरेक दिन उत्सव जस्तै हुन्छ । प्रेम गर्ने जोडीहरूले साताभर आफ्नो पार्टनरसँग प्रेम व्यक्त गर्न विभिन्न तरिकाहरू अपनाउँछन् त्यसैले प्रेमको यो हप्तालाई भ्यालेन्टाइन साता मान्छन् ।

भ्यालेन्टाइन सप्ताहका सात दिनमा प्रेमिल जोडीहरुले विभिन्न तरिकाले प्रेम व्यक्त गर्ने गर्छन् । यो आज ७ फेब्रुअरीदेखि सुरु भएर १४ फेब्रुअरी सम्म मनाइन्छ । भ्यालेन्टाइन सप्ताहको पहिलो दिनलाई गुलाफ दिवस (रोज डे) को रूपमा मनाउँछन् । प्रेम गर्ने जोडीहरूले रातो गुलाफ फूलको सहायताले आफ्नो प्रेम व्यक्त गर्छन् ।

यसैगरी दोस्रो दिन फेब्रुअरी ८ मा प्रपोज डे, फेब्रुअरी ९ मा चकलेट डे, फेब्रुअरी १० मा टेडी डे, फेब्रुअरी ११ मा प्रमिस डे, फेब्रुअरी १२ मा हग डे, फेब्रुअरी १३ किस डे र फेब्रुअरी १४ मा प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे मनाउँछन् ।भ्यालेन्टाइनमा गुलाफको फूल अफ्नो प्रेमी, प्रेमिकालाई दिए प्रेम सफल हुने विश्वास रहँदै आएको छ ।

कसरी सुरु भयो भ्यालेन्टाइन डे ?

प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमनका सम्राट क्लाउडियस द्वितीयलाई आफ्ना सैनिकहरू प्रेम र विवाहमा लागे भने सैनिक सेवा प्रभावित हुन्छ भन्ने डर थियो ।

उनले आफ्नो राज्यमा प्रेम गर्न निषेध गरेका थिए । सोही राज्यका सन्त पादरी भ्यालेन्टाइनले सम्राटको निर्णय धर्मविरुद्ध हो भन्ने मान्थे । उनी अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् भन्ने मान्थे । त्यसैले भ्यालेन्टाइनले युवा युवतीलाई प्रेम गर्न प्रेरित गर्दै सामूहिक विवाह गर्ने गर्दै हिड्ने गरेका थिए ।

आफ्नो आदेश नमानेको निहुँमा पादरी सन्त भ्यालेन्टाइनलाई सम्राटले ईपू २७० को १४ फेब्रुअरीका दिन मृत्युदण्ड दिएका थिए । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा उनका अनुयायीहरुले भ्यालेन्टाइन डे मनाउन सुरु गरेका थिए ।

पश्चिमा देशहरुबाट सुरु भएको भ्यालेन्टाइन पछिल्लो वर्षहरुमा विश्वभर मनाइदैँ आइएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट