सुरेन्द्र महर्जनलाई विश्व कीर्तिमानी प्रमाणपत्र हस्तान्तरण

रंग नेपाल २०७९ फागुन २ मा प्रकाशित

काठमाडौं । वरिष्ठ साहित्यकार एवम् गीतकार सुरेन्द्र महर्जन ‘अमर’लाई ‘वर्ल्ड वाइल्ड बुक अफ रेकर्ड’को विश्व कीर्तिमानको प्रमाणपत्र हस्तान्तरण गरिएको छ । गीतकार संघ नेपालको आयोजनामा भएको एक कार्यक्रमबीच वरिष्ठ गीतकार विश्व बल्लभ र गीतकार संघको अध्यक्ष तथा गीतकार बसन्त वित्यासी थापाबाट संयुक्तरूपमा प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।

चार दशक लामो साहित्य यात्रा र तीन दशक लामो सांगीतिक यात्रालाई निरन्तरता दिँदै आएका साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’लाई विश्व कृतिमान कायम गरेकामा बल्लभ र थापाले बधाई समेत ज्ञापन गरेका छन् । विश्व कीर्तिमानीको प्रमाणपत्र ‘वर्ल्ड वाइड बुक अफ रेकर्ड’को कार्यालयबाट नेपाल आएको केही महिनापछि उक्त रेकर्ड सार्वजनिक भएको हो ।

प्रमाणपत्र वितरण समारोहमा चर्चित संगीतकार सन्तोष श्रेष्ठ, विवेक कार्की, चिरञ्जीवी भण्डारी, चेतन खतिवडा, रमेश कोइरालालगायतले सुरेन्द्र महर्जन ‘अमर’को बारेमा धारणा व्यक्त गरे । वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ले पहिलो पटक विश्वको अग्लो हिमाल सगरमाथा बेस क्याम ५ हजार ३६४ मिटर अग्लो स्थानमा आफ्नो रचनामा तयार भएको गीति एल्बम ‘मायाको सागर’ सार्वजनिक गरेर विश्व कीर्तिमानी रेकर्ड कायम गरेका हुन् ।

साहित्य क्षेत्रमा कविता, गीत, कथा, उपन्यास, मुक्तक, हाइकु, तान्का आदि लेखेर चर्चा बटुल्न सफल साहित्यकार महर्जनले १८ अप्रिल २०२२ मा सगरमाथा बेस क्याममा आफ्नो रचनामा तयार भएको गीति एल्बम अहिलेसम्मकै धेरै उचाई माथिबाट सार्वजनिक गरेका थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट