बकैया कला–साहित्य महोत्सव सुरू

रंग नेपाल २०७९ फागुन ८ मा प्रकाशित

बकैया । मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवारको ३०औँ वार्षिकोत्सवका तथा २८७औँ साहित्य शृखलाका अवसरमा दुईदिने बकैया कला–साहित्य महोत्सव सुरु भएको छ ।

बकैयाको जनक माविमा सुरु भएको महोत्सवको पहिलो दिन चित्रकला तथा कविता प्रतियोगिता सम्पन्न भएको छ । महोत्सवमा बोल्दै बकैया गाउँपालिका उपाध्यक्ष भत्तबहादुर खत्रीले बकैयामा कला, साहित्य र संस्कृतिको क्षेत्रमा पालिकाले सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै बकैयालाई कला–साहित्यको क्षेत्रमा अझै अगाडि बढाउन झरनाको भूमिकाको प्रशंसा गरेका छन् । साहित्यकार मसान उपासकले सहजिकरण गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष गायत्री रूपाखेतीको सभाध्यक्षता रहेको थियो ।

चित्रकला प्रतियोगिताको अभिभावकत्व जनक माविका प्रधानाध्यापक माधव बानियाँले गरेका थिए भने सहजीकरण झरनाका कोषाध्यक्ष कृष्ण घतानीले गरेका थिए । चित्रकला प्रतियोगितामा बकैयाका विभिन्न सात विद्यालयका ६२ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । चित्रकला प्रतियोगिताको निर्णायकमा सूर्य सन्यासी रहेका थिए ।

आजकै अर्को सत्रमा विद्यालय स्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ ‌। यस सत्रको सहजीकरण संस्थाकी सदस्य अमृता लामिछानेले गरेकि थिइन् भने अभिभावकत्व बकैया-७ का अध्यक्ष मानबहादुर सिंतानले गरेका थिए ।

कविता प्रतियोगितामा बकैयाका विभिन्न सात विद्यालयका १८ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । कविता प्रतियोगितामा निर्णायकको रूपमा जनक माविका शिक्षक धर्मप्रसाद दाहाल र प्रभात माविका शिक्षक कुमार स्याङ्बो रहेका थिए ।

आज सम्पन्न भएका विभिन्न सत्रहरूमा बकैया-३ का वडाअध्यक्ष भुमलसिंह घलान, झरनाका संरक्षक उद्धव प्रसाद सापकोटा, भरत प्रसाद सापकोटा, जनक माविमा बिव्यस अध्यक्ष सुन्दर थिङ लामा, बुद्ध मावि हात्तीसुँडेका शिक्षक हरिप्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम भोलि पनि निरन्तर चल्ने र दोस्रो दिनका विभिन्न सत्रहरूमा स्रस्टा सम्मान, जिल्लाभित्र र जिल्लाबाहिर युवा पुस्ता तथा अग्रज साहित्यकारहरुको कविता, मुक्तक र गजल प्रस्तुति, बहस, स्थानीय सांस्कृतिक तथा सांगीतिक प्रस्तुति, चित्रकला प्रदर्शनी, पुस्तक प्रदर्शनी, विमोचन कार्यक्रम रहने रहने संस्थाका उपाध्यक्ष चिरञ्जीवी लामिछानेले जानकारी दिए ।

धेरै पढिएका

पछिल्ला अपडेट