रंगशालाका दुबो मरे होलान् तर आशा मरेको छैन्: धुर्मुस

रंग नेपाल २०७९ चैत ७ मा प्रकाशित

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्यबाट बाहिरिएपछि गुमनाम जस्तै भएका कलाकार सिताराम कट्टेल धुर्मुसले अलपत्र परेको चितवनस्थित निर्माणाधिन रंगशालामा पुगेर दुखेसो पोखेका छन् ।

उनले आफूमाथि करोडौँ भ्रष्टाचारको आरोप लागिरहेको भन्दै हिसाब देखाउन तयार रहेको बताएका छन् । करोडौँ ‘भ्रष्टाचार गरे गाडी जोडे, स्वीमिङ पुलसहितको घर जोडे भनेर आरोप लगाइयो । हो, घर छ स्वीमिङ पुलसहितको । रातदिन रोएको आँसुको भेलले बनेको स्वीमिङ पुल छ । घर, गाडी हामीले २०६७ सालमै जोडिसकेका थियौँ,’ धुर्मुसले भिडियो सार्वजनिक गर्दै भनेका छन् ।

उनले केन्द्र सरकार, स्थानीय सरकारबाट सहयोग नपाएकोसमेत बताएका छन् । करिब १२ करोड मात्रै स्थानीय सरकारहरुबाट सहयोग आएको र अरू सबै स्वदेशमा विदेशमा रहेका दाताहरुको सहयोगमा निर्माण गरिएको उनले बताएका छन् ।

आज पनि रंगशाला बन्नुपर्छ भनेर आफू हिँडिरहेको उनले उल्लेख गरेका छन् । उनले हेर्न चाहनेलाई हिसाब देखाउन सक्ने र गलत भए मर्न पनि तयार रहेको बताएका छन् । ‘सहयोग बराबरको संरचना बनेको तपाईको आँखाले देखेन भने मलाई मारिदिनुस्, गाडिदिनु्स् । म हाँसी हाँसी मर्न तयार छु’,। धुर्मुसले भनेका छन् ।

धुर्मुसले पत्नी कुञ्जना घिमिरेले यो परियोजना गर्न सकिदैन भनेर पहिलै सम्झाएको स्मरण गर्दै धुर्मुसले आफ्नै कारणले रंगशाला निर्माण सुरु गरिएको खुलासा पनि गरेका छन् । उनले आफ्ना परिवारमाथि आरोप लगाउने गालीगलौज गर्ने नगर्न आग्रह गर्दै परिवारको कुनै गल्ती नरहेको बताएका छन् ।

‘जति गाली गर्नुछ मलाई गर्नुस् । मेरो परिवार अभियान्तालाई गाली नगर्नुस् । मेरो परिवार आत्मदाह गर्ने अवस्थामा पुगेको छ । देशको लागि काम गर्दाको सजाय यति कठोर हुन्छ भन्ने कल्पना गरेको सोचेको थिइँन,’ उनले भनेका छन् । उनले १८ करोड उधारो तिरेर निर्माणको काम अगाडि बढाउने हो भने दुई दिन महिना भित्र म्याच सुरु गर्न सकिने उनले बताएका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट