यी ७ चलचित्र प्रदर्शनको तयारीमा

रंग नेपाल २०७९ चैत १० मा प्रकाशित

काठमाडौं । चैत लागेदेखि नै नेपाली चलचित्र प्रदर्शन भएको छैन । दुई साता खाली रहे पनि बाँकी तीन सातामा भने सात चलचित्र प्रदर्शन हुँदैछन् । वैशाखलाई लक्षित गर्दै निर्माताले वितरकसँग सल्लाह गरेर चलचित्र प्रदर्शन तय गरेका हुन् ।

यही चैत १७ गते चलचित्र ‘प्रेमा’ प्रदर्शनमा आउँदै छ । गोविन्दसिंह भण्डारीको निर्देशनमा तयार भएको सो चलचित्रमा अरुण क्षेत्री, सुवेक्षा खड्का र सृष्टी श्रेष्ठ मुख्य भूमिकामा छन् । प्रेम र समर्पणमा आधारित उक्त चलचित्रलाई प्रदर्शन गर्ने समय वितरकसँगको छलफलपश्चात् तय गरिएको निर्देशक भण्डारीले बताए । “अहिले समय पाउनै मुस्किल छ”, उनले भने ।

यसैगरी चैत २४ गते चलचित्र ‘बहाव’ र ‘प्रसाद २’ प्रदर्शन हुँदैछन् । फोटो पत्रकार श्रीधर पौडेलको निर्माण तथा प्रमोद कँडेलको निर्देशन रहेको ‘बहाव’ मा सुरक्षा पन्त, कमलमणि नेपाल, अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठले अभिनय गरेका छन् । जिज्ञासा, विचार अनि यथार्थको कथालाई प्रमुख विषय बनाइएको चलचित्र ‘बहाव’ कलात्मक रहेको निर्देशक कँडेलले जानकारी दिए ।

“चलचित्र पूर्णरूपमा व्यावसायिक भए पनि यसको प्रस्तुतीकरण भने कलात्मक छ”, उनले भने ।

सोही समयमा प्रदर्शन हुने चलचित्र ‘प्रसाद २’लाई सुभाष थापाले निर्माण गरेका हुन् । उनले चलचित्रको काम सकिएकाले चैतको अन्तिम साता प्रदर्शन तय गरिएको जानकारी दिए । “वैशाख १ गते प्रदर्शन गर्ने घोषणा गरेका थियौँ । यद्दपि उक्त समयमा धेरै चलचित्र भएपछि एकहप्ता अगाडि नै प्रदर्शन गर्दैछौँ”, निर्माता थापाले भने, “प्रसादको दोस्रो शृङ्खला भए पनि कथावस्तु फरक छ । गाउँको परिवेशमा पारिवारिक सम्बन्ध र सामाजिक कथावस्तुमा आधारित छ ।”

सुशील पौडेलको लेखन रहेको चलचित्र ‘प्रसाद २’लाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । यसमा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, कमलमणि नेपाल, विशाल पहाडीलगायत कलाकारले अभिनय गरेका छन् ।

आगामी वैशाख १ गते व्यापार राम्रो हुने आशाले चार चलचित्र प्रदर्शन हुँदैछन् । ‘नाई नभन्नु ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’ एकसाथ प्रदर्शन गर्ने घोषणा गरेर निर्माण पक्षले प्रचारप्रसार गरिरहेका छन् । ‘नाई नभन्नु ल’ को छैटौँ शृङ्खलालाई विकासराज आचार्यले निर्देशन गरेका हुन् । यसमा आँचल शर्मा, आर्शिवाद क्षेत्री, केकी अधिकारीलगायतले अभिनय गरेका छन् ।

“प्रेमकथा कै निरन्तरता पाउनु हुनेछ । दर्शककै मायाले छैटौँ शृङ्खलासम्म आइपुगेका छौँ । समग्रमा मनोरञ्जनको प्याकेज तयार गरेका छौँ”, निर्देशक आचार्यले भने । सोही समयमा अभिनेता दयाहाङ राई अभिनित दुई चलचित्र ‘बिहे पास’ र ‘जारी’ एकसाथ प्रदर्शन हुँदैछन् ।

लिम्बू समुदायको प्रेमकथालाई विषयवस्तु बनाइएको ‘जारी’ मा श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमान्को कथा रहेको निर्माण पक्षले जानकारी दिएको छ । कवि उपेन्द्र सुब्बाको निर्देशन रहेको सो चलचित्रमा अभिनेता राईसँगै मिरुना मगर, विजय बराल, कमलमणि नेपाल, रेखा लिम्बूलगायतले अभिनय गरेका छन् । सोही समयमा प्रदर्शन हुने भनिएको अभिनेता राई अभिनित ‘बिहे पास’ मा प्रकृति श्रेष्ठ, बुद्धि तामाङ, शिशिर वाङ्देललगायतले अभिनय गरेका छन् । प्रवेश पौडेलको निर्देशक रहेको उक्त चलचित्रमा बिहे गर्नका लागि सरकारी जागिर हुनुपर्छ भन्ने मान्यताको कथावस्तु समावेश गरिएको छ ।

यस्तै, वैशाख १ मै प्रदर्शनमा आउने चलचित्र हो ‘बुलाकी’ । कर्णालीको ग्रामीण जीवन, रीतिथिति, जारी प्रथा तथा परिवार र सम्बन्धलाई देखाइएको चलचित्रलाई विराज विष्टले निर्माण गरेका हुन् । सुरक्षा पन्त, नरेन खड्कासँगै स्वयं निर्माता विष्टले यसमा अभिनय गरेका छन् । नयाँ वर्षलाई लक्षित गर्दै चार चलचित्र प्रदर्शन हुनु सुखद् नरहेको वितरक करण श्रेष्ठले बताए ।

“एकसाथ यसरी चलचित्र प्रदर्शन हुनाले सबैलाई घाटा गर्छ । बिदालाई लक्षित गर्दै दुई चलचित्र प्रदर्शन हुनु सामान्य मानिन्छ”, उनले भने, “यसबारे सम्बन्धित संस्थाले सोच्नै पर्छ । यही क्रम रहने हो भने आगामी दिन झनै मुस्किल हुनेछन् ।” यस अगाडि नयाँ वर्षमा दुई वा तीनसम्म चलचित्र प्रदर्शन भइसकेका छन् । रासस

धेरै पढिएका

पछिल्ला अपडेट