अन्नपूर्ण आरोहण दिवसमा घान्द्रुकमा म्याराथनसहित महोत्सव हुने

रंग नेपाल २०८० जेठ ५ मा प्रकाशित

कास्की । अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसका सन्दर्भमा अन्नपूर्ण म्याराथन हुने भएको छ ।

अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकमा म्याराथनसहित महोत्सव हुन लागेको हो । महोत्सव जेठ १७ देखि २० गतेसम्म हुने संयोजक ललित गुरुङले जानकारी दिए ।

सोही महोत्सवको अन्तिम दिन २० गते (जुन ३) अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म (१४२ दशमलव १९५ किमी)को म्याराथन आयोजना हुने संयोजक गुरुङले बताए ।

सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली मौरिस हर्जोगले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई ‘अन्नपूर्ण आरोहण दिवस’का रूपमा मनाइन्छ । “दिवस मनाउन म्याराथन आयोजना गरेका छौँ”, अध्यक्ष गुरुङले भने । म्याराथनले पर्यटनको क्षेत्रमा देखिएको सङ्कटमोचन गर्ने उनको भनाइ छ ।

प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेले नगद रु एक लाख ५० हजार, द्वितीय हुनेले रु एक लाख र तृतीय हुनेले रु ७५ हजार प्राप्त गर्ने उनले जानकारी दिए । महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु ७५ हजार, ५० हजार र २५ हजार प्राप्त गर्नेछन् ।

कोभिड–१९ का कारण दुई संस्करण स्थगित भए पनि समितिले यसपटक अन्नपूर्ण म्याराथनलाई निरन्तरता दिन लागेको समितिका अध्यक्ष ललित गुरुङले जानकारी दिए ।

अन्नपूर्ण आधार शिविरको पर्यटन पूर्वाधार निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न विगतमा निरन्तर पर्यटन महोत्सव र अन्नपूर्ण म्याराथन गरिँदै आइएको थियो । प्रतिकूल परिस्थितिका कारण कार्यक्रम स्थगित भए पनि यसपटक कार्यक्रमलाई निरन्तरता दिइने समितिका घान्द्रुक होटल व्यवसायी समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए ।

महोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, बास्केटबल प्रतियोगिता पत्रकारिता पुरस्कार वितरण, हर्स राइडिङलगायत विविध सांस्कृतिक कार्यक्रम हुने संयोजक गुरुङले बताए ।

धेरै पढिएका

पछिल्ला अपडेट