गर्मी अझै बढ्ने अनुमान, सतर्कता अपनाउन आग्रह

रंग नेपाल २०८० जेठ २५ मा प्रकाशित

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन गर्मी बढ्ने देखिएको छ । महाशाखाले विशेष बुलेटिन जारी गर्दै अझै पाँचदिन तराई, पहाड तथा खोँचहरुमा तापक्रम वृद्धि हुने पूर्वानुमान गरिएको बताएको छ ।

तराईका भूभागमा आगामी पाँच दिनसम्म तातो हावा तथा लु लाग्ने सम्भावना रहेको भन्दै अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन महाशाखाले सुझावसमेत दिएको छ । बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको छ । दुम्कौलीको अधिकत तापक्रम जेठ २२ गते पनि ४३.८ डिग्री सेल्सियस थियो ।

पूर्व, मध्य र पश्चिम तराईका जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा पनि माथि पुगेको रेकर्ड छ । तातो हावा तथा लुबाट थकाइ लाग्ने, तीर्खा बढी लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर लाग्ने, बेहोस् हुने, पांसपेशीहरु दुख्ने, बान्ता हुने आदि लक्षण देखिन्छन् ।

यस्ता लक्षण देखिए स्वास्थ्य संस्था जान वा स्वास्थ्यकर्मीको परामर्श लिन महाशाखाले आग्रह गरेको छ । गर्मीको बेला घर बाहिर ननिस्कन, बाहिर निस्किनै परे टाउको छोप्न, पटक–पटक पानी वा झोल पदार्थ प्रशस्त पिउन र हल्का खालका सुतीका कपडा लगाउन महाशाखाले सुझाव दिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट