महिला चलचित्रकर्मीका लागि आईएलओ नेपाल र युएन वुमनको नीति संवाद सम्पन्न

रंग नेपाल २०८० असार ८ मा प्रकाशित

काठमाडौं । नेपाली चलचित्र उद्योगमा काम गरिरहेका महिला चलचित्रकर्मीहरुका लागि आईएलओ नेपाल र युएन वुमनले मर्यादित रोजगारी सृजना तथा दीगो विकासका लागि नीति संवाद सम्पन्न गरेको छ । कार्यक्रमले अन्नत: अन्तर्राष्ट्रिय श्रम वकालत संस्था आईएलओ र सरकारी तवरबाट नीति निर्माण गर्ने तयारी समेत गरेको छ ।

नेपाल सरकारको राष्ट्रिय योजना आयोगको सहकार्यमा आईएलओ नेपाल र युएन वुमनले चलचित्र उद्योगमा काम गरिरहेको महलाहरुको अवस्था र उनीहरु मर्यादित पेशाबारे एक अन्र्तक्रिया कार्यक्रम नीति संवाद बिहीवार काठमाडौं म्यारियट होटेलमा सम्पन्न गरेको हो ।

कार्यक्रममा चलचित्र उद्योगमाथी अध्ययन गरेर तयार पारेको प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । जसमा नेपाली चलचित्रको अवस्था, महिलाहरुको अवस्था, महिलाहरुको मर्यादित पेशा र श्रमको उचित मूल्य तथा महिलाहरुको रोजगारीको सुनिश्चितताबारे विषयहरु समावेश भएको थियो ।

चलचित्र उद्योगका महिलाहरुलाई मर्यादित पेशाबारे सजग बनाउँदै दीगो रोजगारीको सृजनाका लागि आईएलओ नेपाल र युएन वुमनले सरकारबाटै नीति निर्माण गरि कार्यक्रम ल्याउनु पर्ने अवस्था सृजनाका लागि कार्यक्रमको आयोजना गरेको आईएलओ नेपालकी प्रतिनिधि कृपा बस्नेतले बताइन् ।

चलचित्र उद्योग र महिलाहरुको मर्यादित पेशाबारे प्रतिवेदन प्रस्तुत पछि उपस्थित व्यक्तित्वहरु र संघ संस्थाका प्रतिनिधिले सुझाव समेत पेश गरेका थिए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य राम कुमार फुँयाल र सदस्य सचिव तोय नारायण ज्ञवालीले महिला चलचित्रकर्मीको अवस्थालाई बुझेर दीगो मर्यादित पेशाका लागि थप कार्यक्रमहरु सरकारले निर्माण गर्न सकिने बताए ।

यस्तै कार्यक्रममा बरिष्ठ कलाकार बसुन्धरा भुषाल, कलाकार तथा नृत्य निर्देशक पवित्रा आचार्यलगायतले चलचित्र उद्योगमा आफुले भोगेका अनुभव सुनाएकी थिइन् । यस्तै नेपाल चलचित्र एण्ड कल्चर एकेडेमीका अध्यक्ष केपी पाठक, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामीलगायतले प्रतिवेदनमा केही गलत दाता र जानकारी रहेको भन्दै सच्याउन आग्रह गर्दै सुझावहरु दिएका थिए ।

सरकारले चलचित्र नीति पास नगर्नु र उद्योगमो मान्यता दिए पनि सेवा सुविधा नदिँदा चलचित्र उद्योगमा दीगो राजगारी सुनिश्चितता नभएको समीर बलामीले बताए । आईएलओ नेपाल र युएन वुमनले संयुक्त रूपमा आयोजना गरेको नीति संवाद कार्यक्रममा नेपाली चलचित्र क्षेत्रमा महिलाका लागि मर्यादित रोजगारीका अवसरहरू बढाउन सरकारका प्रतिनिधिहरू, चलचित्र क्षेत्रका चलचित्रकर्मी, नेपाली चलचित्र उद्योगसँग सम्बन्धित विभिन्न सरोकारवालाहरू र विकास निकायका प्रतिनिधिहरूलाई भेला गराइएको थियो । कार्यक्रममा आईएलओका कन्ट्रि डाइरेक्टर नुमान ओज्कानको पनि उपस्थिति रहेको थियो ।

यस्तै, महिला बालबालिका मन्त्रालयकी शाखा अधिकृत, श्रम मन्त्रालयकी शाखा अधिकृत, शिक्षा मन्त्रालयकी शाखा अधिकृत, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयकी शाखा अधिकृत, पर्यटन मन्त्रालयकी शाखा अधिकृत, राष्ट्रिय तथ्याङ्क विभागका निर्देशक, अर्थ मन्त्रालयकी शाखा अधिकृत, युनेस्कोका प्रतिनिधि, प्लान ईन्टरनेशनलकी प्रतिनिधि, निर्देशक समाजका प्रतिनिधि, नृत्य संघका प्रतिनिधिलगायतको पनि कार्यक्रममा उपस्थिती रहेको थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट