नेपाल–अमेरिका चलचित्र महोत्सव सुरु

रंग नेपाल २०८० असार ९ मा प्रकाशित

काठमाडौं, ९ असार । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौँ संस्करण सुरु भएको छ । बिहीबार बेलुकी अमेरिकाको वासिङ्टन डिसी मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ प्रदर्शनसँगै महोत्सवको उद्घाटन गरिएको हो ।

महोत्सवका निर्देशक युवाकार राजकर्णिरले अमेरिकी निर्देशक न्यन्सीको निर्देशनमा बनेको ‘पासाङ, इन द स्याडो अफ एभरेष्ट’को प्रदर्शनसँगै जुन २५ मा महोत्सव समापन तथा पुरस्कार वितरण हुने जानकारी दिए । “महोत्सवले नेपाली संस्कृति र कलालाई अन्तर्राष्ट्रियस्तरमा फैलाउन मद्दत गर्नेमा विश्वस्त छौँ”, उनले भने ।

महोत्सवमा सहभागी अभिनेता राजेश हमालले महोत्सवमा उपस्थित हुन पाउँदा खुसी व्यक्त गर्दै गतिविधिले विशेष महत्त्व राख्ने बताए । “यस्ता महोत्सवले नेपाली समुदायलाई जोड्ने काम गर्छ । त्यसकारण यस्ता गतिविधि उद्देश्यअनुरूप भएमा हामीलाई फाइदा छ”, अभिनेता हमालले भने । यही असार १० गते (जुन २५) सम्म चल्ने चलचित्र महोत्सवमा फिचर चलचित्र, वृत्तचित्र, छोटा चलचित्र, एनिमेसन गरी एघार देशका ३७ चलचित्र प्रदर्शन हुने तालिका रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट