यी हुन् सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारबाट पुरस्कृत हुने ६ जना कलाकार

रंग नेपाल २०८० असार १२ मा प्रकाशित

काठमाडौं । नेपाली सङ्गीत, नृत्य तथा नाट्यमा लामो समयदेखि योगदान पुर्‍याएका विभिन्न श्रष्टाहरु ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ बाट पुरस्कृत भएका छन् ।

प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेलको सभापतित्वमा आयोजित समारोहमा आज मंगलबार उपराष्ट्रपति रामसहाय यादवले सम्बन्धित कलाकारहरुलाई पुरस्कृत गरेका हुन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नो १३औँ वार्षिकोत्सवका अवसरमा घोषणा गरेको पुरस्कार आज वितरण गरिएको हो ।

जस अनुसार नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ लोक सङ्गीत विधाबाट वरिष्ठ लोक गायक नवीन किशोर राई, नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ सङ्गीत विधाबाट वरिष्ठ गायक/सङ्गीतकार तथा गीतकार गणेश रसिक पुरस्कृत भएका छन् ।

यस्तै, परम्परागत तथा शास्त्रीय सङ्गीत विधाको नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९बाट वरिष्ठ सङ्गीतज्ञ विजयकुमार श्रेष्ठ नेपाल पुस्कृत भएका छन् । यसैगरी, रङ्गमञ्च विधाबाट नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ वरिष्ठ रङ्गकर्मी भैरव क्षत्री र नृत्य विधाबाट नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ वरिष्ठ नृत्य निर्देशक कुलमान नेपालीलाई प्रदान गरिएको छ ।

सोही समारोहमा नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ नाट्य विधाबाट नाट्य अनुसन्धाता प्रा.डा. रामचन्द्र पोखरेललाई अर्पण गरिएको छ । पुरस्कृत ६ जना कलाकारलाई नै जनही एक लाख एक रुपैयाँ नगद सहित ताम्रपत्र र दोसल्लाबाट पुरस्कृत गरिएको हो ।

धेरै पढिएका

पछिल्ला अपडेट