‘अपीच्य’ को टिजर सार्वजनिक

रंग नेपाल २०८० साउन ५ मा प्रकाशित

काठमाडौं । नयाँ नेपाली थ्रिलर चलचित्र ‘अपीच्य’को टिजर सार्वजनिक गरिएको छ । निर्देशक प्रदीप खड्गीको निर्देशन रहेको चलचित्रको टिजरलाई इन्टरटेनमेन्ट नेपाली टिभी नामको युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

चलचित्रको टिजर सार्वजनिक गर्दै निर्देशक खड्गीले भनेका छन् ‘हरर फिल्मको टिजर सार्वजनिक गर्न पाउँदा हामी हर्षित छौँ । अब चाँडै नै देशभरका सिनेमा हलहरूमा लाग्दैछ ।’ अपीच्य शब्दको अर्थ रहस्य हुन्छ । रहस्यभित्र रुमलिएको कथाबस्तुमा निर्माण गरिएको भएर चलचित्रको नाउँ अपीच्य रहन गएको उहाँको भनाइ छ ।

सनिश शाक्य, सलोना बज्राचार्य, सुरज व्यञ्जनकार, रवि गिरी, रचना सिंह, सुरेन्द्र मानन्धर, कृष्णभक्त, राजेन्द्रकुमार, लक्ष्मीकुमार महर्जन, विनेश श्रेष्ठ, लुनिभा खड्गी, लक्ष्मीनाथ मदगैया आदि कलाकारहरूको अभिनय रहेको चलचित्र डेल्टा मल्टिमिडियाको ब्यानरमा निर्माण भएको हो । सुदन श्रेष्ठ, धर्म महर्जन र सुरेश महर्जनले निर्माण गरेको चलचित्रमा रविन डंगोल र आयुष महर्जनको छायाङ्कन, विनेश श्रेष्ठको कला निर्देशन, सुशील राजोपाध्यायको कथा सम्पादन रहेको छ ।

थ्रिलर तथा हरर मिक्स भएको चलचित्र ‘अपीच्य’का निर्देशक प्रदीप खड्गीले यसअघि ‘कीर्तिपुर दि लिजेन्ड अफ कीर्तिलक्ष्मी’, सार्वजनिक हुनबाँकी बहुभाषी चलचित्र ‘हिमआँधी’, नेपालभाषाका थुप्रै चलचित्रमा काम गरिसकेका छन् । चलचित्रले आफ्नो प्रदर्शनको समयमा दर्शकमाझ के–कस्तो छाप छोड्छ त्यो भने चलचित्र प्रदर्शनमा आएपछि थाहा हुनेछ ।

धेरै पढिएका

पछिल्ला अपडेट