‘प्रतिभा नक्षत्र’को लागि आवेदन खुला

रंग नेपाल २०८० साउन ५ मा प्रकाशित

काठमाडौं । बेलायतमा रहेका नेपाली बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने कार्यक्रम ‘प्रतिभा नक्षत्र २०२३’को लागि आवेदन खुला गरिएको छ ।

बेलायतमा बसोबास गर्दे आएका नेपाली बालबालिकाहरुको लागि आफ्नो क्षमता प्रर्दशन गर्ने अत्यन्तै महत्वपूर्ण कार्यक्रम प्रतिभा नक्षत्र यही अगस्ट २६ मा लण्डन प्लमस्टिडको एशियन कम्युनिटी सेन्टरमा आयोजना हुनेछ ।

उक्त कार्यक्रममा सहभागी हुन इच्छुक प्रतियोगीले अनलाइनमार्फत पनि आवेदन दिनसक्ने आयोजक संस्था प्रतिभा नक्षत्रले जनाएको छ । प्रतिभा नक्षत्रका अध्यक्ष सिम्मी पुनका अनुसार प्रतिभा नक्षत्र कार्यक्रम बेलायतमा बसोबास गर्दे आएका नेपाली बालबालिकाहरुको लागि नेपाली भाषा, कला र संस्कृतिको जानकारी दिने तथा उनीहरुको प्रतिभा प्रर्दशन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको होे ।

नेपाली गीत, सङ्गीत, नृत्य, कला, साहित्य, चित्रकलालगायतका जुनसुकै विधामा पनि बालबालिकाले प्रतिभा देखाउन सक्ने प्रतिभा नक्षेत्रका परिकल्पनाकार राजेन्द्र खसले जानकारी दिए । उनका अनुसार भने नेपाली बालबालिका र युवाहरुलाई नेपाली भाषा, कला र संस्कृतिसँग परिचित गराउने विभिन्न खालका कार्यक्रम आयोजना गरिनेछ ।

त्यसैगरी, विभिन्न नेपाली परिकारका खाना, नेपाली खेलहरुदेखी चङ्गा उडाउने र साहित्यिक सामग्रीको वाचन गर्ने कार्यक्रम छ ।

नेपाली मूलका बालबालिकाको सहभागिता रहने प्रतिभा नक्षत्र कार्यक्रममा बाल तथा युवा गरी दुई छुट्टाछुट्टै समूहमा प्रतिस्पर्धा हुनेछ । युथ नक्षत्रमा पहिलो, दोस्रो र तेस्रो हु्नेलाई क्रमशः छ सय पाउण्ड, पाँच सय पाउण्ड र चार सय पाउण्ड तथा यसैगरी बाल नक्षत्रमा पहिलो, दोस्रो र तेस्रो हुनेले पनि क्रमशः चार सय, तीन सय र दुई सय पाउण्ड पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । बालसमूह अन्तर्गत ६ वर्षदेखि ११ वर्षसम्मका बालबालिका र युथअन्तर्गत ११ देखी १९ वर्षका युवाले भाग लिन सक्नेछन् । चार वर्षदेखि नियमित हुँदै आएको प्रतिभा नक्षत्र कार्यक्रममा नेपाली संस्कृति झल्काउने खालका केही कार्यक्रम यस वर्ष थप गर्न लागिएको छ । यस वर्ष पहिलो पटक कार्यक्रमस्थलमा थारु संस्कृति झल्काउने थारुघर र नेपाली मौलिकता झल्काउने विभिन्न स्टल राखिने तयारी भइरहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट