व्यास नगर साइनिङ स्टारको अडिसन साउन १२ र १३ गते हुँदै

रंग नेपाल २०८० साउन ७ मा प्रकाशित

तनहुँ । व्यास नगर साइनिङ स्टारको अडिसन यही साउन १२ र १३ गते हुने भएको छ । जेसीआई व्यास नगरले आयोजना गर्दै आएको व्यास नगर साइनिङ स्टारको नवौं संस्करणको अडिसन व्यास–४ स्थित दमौली कलेजको प्राङ्गणमा हुने आयोजकले जानकारी दिएको छ ।

शनिबार दमौलीमा पत्रकार सम्मेलन गर्दै आयोजकले व्यास नगर साइनिङ स्टारको नवौं संस्करणका बारेमा जानकारी गराएको हो । कार्यक्रमको फिनाले भने भदौ १५ गते हुने जेसीआई व्यास नगरका अध्यक्ष राजु रानाले जानकारी दिए । यसअघि नगर क्षेत्रका ९–१४ वर्षका बालबालिकाले अडिसन दिन पाउने व्यवस्था रहेकामा यस वर्षदेखि १०–१५ वर्षसम्मका बालबालिका अडिसनमा सहभागी गराइने उनले बताए ।

अडिसनबाट छनोट हुने २० जना बालबालिकालाई एक महिनासम्म विभिन्न विधाका प्रशिक्षण र तालिम प्रदान गरिने छ । एक महिने प्रशिक्षण, तालिम र विभिन्न अवलोकन भ्रमण गराएपछि अन्तिममा ४ जना निर्णायकहरूको निर्णयबाट उत्कृष्ट हुने प्रतिभा व्यास नगर साइनिङ स्टार घोषणा गरिने छ ।

व्यास नगर साइनिङ स्टार २०२२ को उपाधि जित्नेलाई नगद रू. २५ हजार २३, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै फर्स्ट रनरअपले १५ हजार, २३ र सेकेण्ड रनरअप हुनेलाई १० हजार, २३ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

त्यस्तै, प्रतियोगितामा बेस्ट पर्सनालिटी, बेस्ट वाल्क, बेस्ट फोटोजेनिक, बेस्ट ट्यालेन्ट, बेस्ट स्माइल, बेस्ट डे«स, बेस्ट अनुशासन, बेस्ट प्रोजेक्ट वर्क, बेस्ट भ्युवर च्वाइस र बेस्ट कन्ट्रिव्युसन गरी १० वटा विधागत अवार्डहरू पनि रहेका छन् ।

१० विधामा उत्कृष्ट हुनेलाई जनही रू. २ हजार र आकर्षक पुरस्कारको व्यवस्था गरिएको बताइएको छ ।

व्यास नगर साइनिङ्ग स्टारमा प्रतिस्पर्धा गरेका बालबालिकाहरूले विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गरिरहेकाले यसले समाजलाई महत्वपूर्ण योगदान पुगेको पूर्वध्यक्ष एकप्रसाद श्रेष्ठले बताए । प्रतियोगिताको मुख्य उद्देश्य नै व्यक्तित्व र नेतृत्व विकास भएको बताउँदै बालबालिकालाई टिकट विक्री गर्न प्रेसर नगर्ने उनको भनाइ छ ।

बालबालिकाको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउँदै व्यक्तित्व र नेतृत्व विकास, शारीरिक तन्दुरुस्ती, कला संस्कृतिलगायत विविध समसामयिक विषयको ज्ञान प्रदान गर्ने उद्देश्य राखेर जेसीआई व्यास नगरले २०१३ देखि निरन्तर व्यास नगर साइनिङ स्टार प्रतियोगिता आयोजना गर्दै आइरहेको महासचिव सुनिल श्रेष्ठले जानकारी दिए । साइनिङ स्टारले बालबालिकाहरूको प्रतिभा प्रष्फुटनको एउटा उत्कृष्ट प्लाटफर्मको रुपमा पहिचान स्थापित गरेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट