‘कार्साङ’मार्फत नेपाली चलचित्रमा डेब्यु गर्दै नवनायिका छिरिङ

रंग नेपाल २०८० साउन ८ मा प्रकाशित

काठमाडौं । यम शेर्पाको निर्देशनमा बन्ने चलचित्र ‘कार्साङ’मा नवनायिकाका रुपमा छिरिङ शेर्पा अनुबन्धित भएकी छिन् ।

छिरिङले यसै चलचित्रमार्फत नेपाली फिल्ममा डेब्यु गर्न लागेकी हुन् । छिरिङले यसअघि शेर्पा समुदायमा बनाइएका केही चलचित्र र थुप्रै म्यूजिक भिडियोमा अभिनय गरेकी छन् । उनी टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार नेपाल सिजन २’को विजेता समेत हुन् ।

छिरिङले विश्वकै सर्वाधिक उचाइमा कोरियोग्राफी तथा नृत्य गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम समेत राखेकी छिन् । उनले ५ हजार ६०० मिटरको उचाईमा अवस्थित कालापत्थरमा कोरियोग्राफी र नृत्य गरेकी छिन् । यो चलचित्र यार्सा फिल्मसको व्यानरमा निर्माण हुन लागेको हो । यसअघि यो चलचित्रमा मुख्य अभिनेताका रुपमा दयाहाङ राई र बुद्धि तामाङ फाइनल भइसकेका छन् ।

पुरुषोत्तम प्रधानको छायाङ्कन रहने चलचित्रमा उनी निर्माताका रुपमा पनि जोडिएका छन् । चलचित्रको छायाङ्कन बाह्रबीसे नगरपालिका र बाँकी भोटेकोसी गाउँपालिकामा हुने निर्माण पक्षले जनाएको छ ।

शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुन लागेको चलचित्रका अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए । चलचित्रका बाँकी कलाकार अडिसनमार्फत छनोट गरिने छ ।

निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय चलचित्र हो । यसअघि उनले थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन् । यो चलचित्रमा दयाहाङ र बुद्धि अनुबन्धित भएसँगै विदेशबाट ओभरसिस राइटसका लागि माग बढिरहेको निर्माण पक्षको दाबी छ । फिल्मको छायाङ्कन तिहारलगत्तै गरिने बताइएको छ । चलचित्रको वितरणको जिम्मेवारी आरआर फिल्मसले लिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट