मिस्टर मकवानपुर हुने, विजेतालाई १ लाख रुपैयाँ

रंग नेपाल २०८० भदौ ८ मा प्रकाशित

हेटौंडा । नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरले मिस्टर मकवानपुर-२०८० गर्ने भएको छ ।

शारीरिक सुगठन तथा फिट्नेस सम्बन्धी विभिन्न कार्य गर्दे आइरहेको महासंघले मिस्टर मकवानपुर-२०८० आयोजना गर्न लागेको शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । असोज १३ गते हेटौंडाको पल्पसा हलमा हुने कार्यक्रममा विजेताले १ लाख राशीको पुरस्कार प्रदान गरिने संघका अध्यक्ष राजेश भेटवालले बताए ।

प्रतियोगीतामा ५५, ६०, ६५, ७० र ७५ं केजी तौल समूहमा खेलाडीहरुले सहभागिता जनाउने उनले बताए । प्रत्येक तौल समूहको विजेतालाई रु.१० हजार प्रदान गरिने छ । त्यस्तै, मिस्टर मकवानपुरको दोस्रो स्थान हाँसिल गर्नेलाई रु.५० हजार, तेस्रो स्थान हासिल गर्नेलाई रु. ३० हजार नगद सहित ट्रफि मेडल प्रदान गरिने उनले बताए ।

खेलाडी बढी प्रस्तुत गर्ने क्लबलाई वेस्ट क्लबको साथै नगद रु।२५ हजारसहित सम्मान गरिने समेत उनले बताए । कार्यक्रममा १२ लाख बराबरको खर्चको अनुमान गरिएको संघको सचिव पासाङ लामाले बताए ।

‘खेलप्रति महिलाको आकर्षण बढाउनको निम्ति यस वर्ष देखि महिला खेलाडीद्धारा एकै तौल समूहमा प्रतिस्पर्धा समेत गरिनेछ ।’अध्यक्ष भेटवालले भने, ‘साथै पुराना खेलाडी र खेलको प्रवर्धन गर्ने पत्रकारिता क्षेत्र, सामाजिक क्षेत्र, खेलकुद शिक्षा क्षेत्रका १/१ जना व्यक्तित्वलाई सम्मान गरिनेछ ।’

प्रथम मिस्टर मकवानपुर २०६६ सालमा सम्पन्न भएको थियो जसमा सुनिल महर्जन विजेता रहेका थिए । त्यस्तै दोस्रो मिस्टर मकवानपुर २०७५ को विजेता अतित श्रेष्ठ भएका थिए ।

त्यस्तै दोश्रो मिस्टर मकवानपुर पश्चात महासंघले विगतमा तेश्रो मिस्टर मकवानपुर पनि आयोजना गरेको तर कोभिड-१९ लकडाउन र विभिन्न महामारी प्रकोपका कारणले स्थगित गर्न बाध्य भएको आयोजकले जानकारी दिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट