काठमाडौं उपत्यकामा पहिलो पटक द्रुत बस सेवा सञ्चालनमा

रंग नेपाल २०८० असोज ३ मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा पहिलो पटक द्रुत बस सेवा सञ्चालनमा आएको छ । संविधान दिवसको अवसर पारेर भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको रत्नपार्क सडक खण्डमा सुरु गरिएको द्रुत बस सेवाको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले शुभारम्भ गरेका हुन् । १३ दशमलव ४ किलोमिटर सडक खण्डमा द्रुत बस सेवा सञ्चालनका लागि यसअघि नै मार्किङको काम सम्पन्न भइसकेको छ ।

द्रुत बस सेवा सञ्चालन शुभारम्भ गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालाले पहिलो चरणमा सुरु गरिएको द्रुत बस सेवालाई उपत्यकाका अन्य स्थानमा पनि विस्तार गरिने बताए । उनले द्रुत बस सेवालाई अवरोध नपुग्ने गरी निरन्तरता दिनका लागि निरन्तर अनुगमन र सरोकारवालासंग छलफल गर्ने जानकारी दिए ।

त्यस्तै मन्त्री ज्वालाले दशैँ तिहार जस्ता चाडपर्वलाई मध्यनजर गर्दै यातायातलाई व्यवस्थित गर्नका लागि योजनाबद्ध रुपमा अघि बढ्ने धारणा राखे । यातायात कार्यालयमा अनलाईन सेवालाई देशव्यापी बनाउदै सहज रुपमा सेवा प्रदान गर्ने गरी काम अघि बढेको उनको भनाइ छ । कार्यक्रममा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले सार्वजनिक यातायात सहज नहुदा निजी यातायातलाई प्रयोग गर्नुपरेको भन्दै यस क्षेत्रलाई व्यवस्थित गर्दै सहज बनाउनुपर्ने बताए ।

उनले सार्वजनिक सेवाको सुधारको कामलाई दिर्घकालीन रुपमा अघि बढाउनुपर्नेमा जोड दिए । त्यस्तै सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले साना गाडीको संख्या बढ्दा सडक व्यवस्थापनमा चूनौती देखिने भन्दै सार्वजनिक यातायातमा आकर्षण बढाउनुपर्ने बताए ।

कार्यालय समयलाई ध्यानमा राख्दै द्रुत बस सेवा दैनिक बिहान ९ बजेदेखि ११ बजे र साँझ ४ बजेदेखि ६ बजेसम्म सञ्चालन हुनेछन् । सो समयमा रेड मार्किङ गरेको सडकमा द्रुत बस बाहेक अन्य सवारी साधन गुड्न नपाउने यातायात कार्यालयले जनाएको छ । द्रुत बससेवाको सम्भाव्यता अध्ययनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सडक विभागका महानिर्देशकको संयोजकत्वमा समिति बनाएको थियो । समितिले प्रारम्भमा सूर्यविनायक–रत्नपार्क खण्डमा परीक्षणको रुपमा द्रुत बससेवा सञ्चालन गर्न सकिने सुझाव दिएको थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट