‘महाजात्रा’ छायांकनमा प्रकाश घिमिरे

रंग नेपाल २०८० मंसिर २५ मा प्रकाशित

काठमाडौं । घाँस काट्ने क्रममा भिरबाट खसेर घाइते भएका अभिनेता प्रकाश घिमिरे डेढ महिनापछि चलचित्रको छायांकनमा फर्किएका छन् । बुढानीलकण्ठमा चलचित्र ‘महाजात्रा’ छायांकनसँगै उनी काममा फर्किएका हुन् ।

‘जात्रा’ शृङ्खलादेखि नै चलचित्रमा उनी अभिनेत्री वर्षा राउतको पिताको भूमिकामा देखिएका थिए । छायांकनमा फर्किन पाउँदा खुसी लागेको उनले बताए  । “केही समयको विश्रामपछि चिकित्सकको सल्लाह अनुसार नै आराम र काम गरिरहेको छु,” अभिनेता घिमिरेले भने ।

फिल्मका निर्माता म्याक्स दिपेश खत्रीले अभिनेता घिमिरेलाई छायांकनस्थलमा देख्दा सबैको मुहारमा खुसी देखिएको बताए । “उहाँ स्वास्थ्य लाभ गरेर फर्किनुहुन्छ भन्नेमा हामी विश्वस्त थियौँ । त्यसैले उहाँको दृश्य बाँकी राखेर अन्य छायांकन गर्‍यौँ । उहाँलाई नित्य काममा देख्न पाउँदा खुसी लागेको छ,” निर्माता खत्रीले भने । उनले अभिनेता घिमिरेको सम्पूर्ण दृश्यको छायांकन सकेर पठाउने बताए। अभिनेता घिमिरेसँगै अभिनेता हरिवंश आचार्यले पनि छायांकन गरिरहेका छन् । षट्कोण आर्ट्सको निर्माणमा तेस्रो शृङ्खला ‘महाजात्रा’ को छायांकन काठमाडौंसँगै तराईका भूभागमा समेत गरिने छ ।

लेखक तथा निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भइरहेको चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अर्जुन जङ्ग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेवलगायतको अभिनय रहेको छ ।

जीवन समृद्ध तुल्याउने सपना र आपत्कालीन रूपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रूपले प्रस्तुत गरिएको चलचित्र छायांकन नहुँदै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ । चलचित्र आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुने छ ।

धेरै पढिएका

पछिल्ला अपडेट