अग्रिम बुकिङमा प्रभासको ‘सालार’ आक्रमक, पहिलो दिन ३१ हजार बढी टिकट बिक्री

रंग नेपाल २०८० पुष १ मा प्रकाशित

मुम्बइ । साउथ सुपरस्टार प्रभासको बहुप्रतिक्षित फिल्म ‘सालार’ २२ डिसेम्बरमा हलमा रिलिजको लागि तयारीमा छ ।

दर्शकले लामो समयदेखि यो फिल्मको प्रतिक्षा गरिरहेका छन् । फिल्मको रिलिज मिति पटक–पटक सारिएपछि अब यो पर्दामा आउने भएको छ । यसअघि पनि फिल्मको ट्रेलर रिलिज भएको थियो भने अब अग्रिम बुकिङ पनि सुरु भएको छ, जसमा ‘सलार’ले राम्रो कलेक्सन गरिरहेको छ ।

यसको अग्रिम बुकिङ डिसेम्बर १६ गते अर्थात् ‘सालार’ रिलिज हुनु एक साता अघि देखि नै सुरु भएको हो । प्रभासको फिल्मले पहिलो दिन अग्रिम बुकिङमा ३१ हजारभन्दा बढी टिकट बेचेको छ भने ६० लाखभन्दा बढी कमाएको छ । सैकनिल्कको रिपोर्ट अनुसार ‘सालार’ ले पहिलो दिन अहिलेसम्म अग्रिम बुकिङ गरी ३१ हजार २८६ टिकट बिक्री गरेको हो ।

‘सालार’ तेलुगु, मलयालम, तमिल, कन्नड र हिन्दी गरी ५ भाषामा रिलिज हुनेछ । हाल, अग्रिम बुकिङको आंकडा हिन्दी भाषामा आउन बाँकी छ। होमबेल फिल्म्सको ब्यानरमा निर्माण भएको ‘सालार’लाई प्रशान्त नीलले निर्देशन गरेका हुन् । फिल्ममा प्रभाससँगै पृथ्वीराज सुकुमारन, श्रुति हासन र मीनाक्षी चौधरी, टिनु आनन्द, ब्रह्माजी, ईश्वरी राव महत्वपूर्ण भूमिकामा देखिनेछन् । सालार दुई साथीको कथा हो, जसमा एक साथीले आफ्नो मृत्यु हुँदा अपराधी गिरोहबाट बदला लिने वाचा गर्छ। प्रभासको वर्कफ्रन्टको कुरा गर्दा ‘सालार’ पछि अभिनेता ‘कल्की २८९८ ईस्वी’ मा देखिनेछन् ।

धेरै पढिएका

पछिल्ला अपडेट