‘पर्खी बसें तिमीलाई’को दुई नयाँ पोस्टर सार्वजनिक

रंग नेपाल २०८० पुष ५ मा प्रकाशित

काठमाडौं । दीपक श्रेष्ठले निर्देशन गरेको नयाँ चलचित्र ‘पर्खी बसें तिमीलाई’को दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पौष २७ मा प्रदर्शन गरिने तय भएको चलचित्रको दुई पोस्टर मध्ये एकमा प्रेम भाव देखाईएको छ भने, दोस्रोमा प्रेमले निम्त्याउने वेदना प्रस्तुत गरिएको छ ।

निर्देशक श्रेष्ठले ‘पर्खी बसे’ मार्फत नयाँ कलाकारका रुपमा राजबल्लभ कोइराला र युना उप्रेतीलाई भित्र्याएका थिए । यसपटक उनेल २७ औँ चलचित्रको रुपमा‘पर्खी बसें तिमीलाई’ मार्फत अभिनेतामा किरण श्रेष्ठ र अभिनेत्रीमा रक्षा बुढाथोकीले डेब्यु गर्दैछन् । सार्वजनिक दुई पोस्टरमार्फत एउटामा दुई कलाकारको प्रेम र अर्कोमा सम्पूर्ण कलाकारको भावना प्रस्तुत गरिएको निर्देशक श्रेष्ठले बताए ।

‘यो विसुद्ध प्रेम कथानक चलचित्र हो । त्यसैले यसमा दुई नयाँ कलाकारलाई भित्र्याएका छौं । पर्खी बसें झैँ यसमा पनि नयाँ कलाकारलाई लिएर काम गरेको छु । उहाँहरूलाई चलचित्र उद्योगले स्वागत गर्नेमा विश्वस्त छु’, निर्देशक श्रेष्ठले भने ।

अभिनेता किरण र अभिनेत्री रक्षाले अभिनय सिकेर चलचित्रमा डेब्यु गर्न लागेका हुन् । आभिनेत्री रक्षाले आफूले प्रेम कथानक चलचित्रमार्फत डेब्यु गर्न पाउँदा खुसी व्यक्त गरिन् । ‘फिल्ममा लभर गर्लको रुपमा प्रस्तुत भएकी छु । नयाँ भएता पनि टिमले गर्नु भएको सहयोगले मैले आफ्नो काम देखाउने अवसर पाएकी छु’, रक्षाले भनिन् ।

अभिनेता किरणले पनि लभ स्टोरीमा प्रस्तुत हुन् पाउँदा खुसी व्यक्त गरे । ‘दीपक सर जस्तो लिजेन्ड निर्देशकको एक्सन कटमा काम गर्न पाए । निकै उत्साहित छु । आफू सुहाउँदो भूमिकामा प्रस्तुत भएको छु’, किरणले भने ।

यस चलचित्रमा लोकप्रिय गीत ‘कालो चस्मा लाउ है मैया’ रीमेक गरिएको छ । चलचित्र ‘बादलपारी’ मा समावेश लोकप्रिय गीतको रीमेकमा सुरेन्द्र राणाकै शब्द र शम्भुजित बाँस्कोटाको सङगीत रहेको छ । गीतलाई गायक प्रमोद खरेल र गायिका मिलन नेवारले गाएका छन् ।

निर्माता राजाराम बुढाथोकीले विना सम्झौता चलचित्र तयार गरिएको जानकारी दिए । उनले भने,‘यसमा प्रेमसँगै पारिवारिक द्वन्द्वको मिश्रण छ । यो विसुद्ध मनोरन्जनात्मक चलचित्र बनेको छ । स( परिवार हेरेर मनोरञ्जन लिन सक्नु हुनेछ । यसमा अहिलेको पुस्ताको प्रेम कथा देखाईएको छ ।’

रोमान फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको चलचित्रमा अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायाङकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङगीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।

यसको छायाङक नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ । चलचित्र काठमाडौं उपत्यकामा करण श्रेष्ठले रीच इन्टरटेनमेन्ट मार्फत र मोफसलमा एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्नेछ ।

धेरै पढिएका

पछिल्ला अपडेट