कमेडी विधाको चलचित्र ‘खजुरे ब्रो’ धरानमा प्री प्रोडक्सन हुँदै

रंग नेपाल २०८० पुष ११ मा प्रकाशित

काठमाडौं । निर्देशक सुरज सुनुवारको निर्देशनमा बन्न लागेको चलचित्र ‘खजुरे ब्रो’ को यतिबेला धरानमा प्री प्रोडक्सनको कार्य धमाधम भइरहेको छ ।

दिब्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा बन्न लागेको चलचित्रको युनिट धरानमा लोकेसन हन्टिंग पनि गरिरहेको छ । कमेडी विधामा बन्ने चलचित्रको लेखन पनि स्वयम् निर्देशक सुनुवारको रहेको छ । सुनुवारले ८ वर्ष अघि चलचित्र ‘षडङ्ग’को निर्देशन गरेका थिए ।

नबीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्ने चलचित्रका कार्यकारी निर्माता डायमण्ड उप्रेती हुन् । शिशिर बिसंखेले छायाँकन गर्ने चलचित्र माघ पहिलो साताबाट फ्लोरमा जानेछ ।

चलचित्रमा काम गर्ने कलाकारहरुको बारेमा निर्माण टिमले कुनै जानकारी गराएको छैन । निर्माण टिमले धरानका मेयर हर्क साम्पाङ्गसंग भेटेको छ । हर्कले ‘खजुरे ब्रो’को कथा सुनेर मज्जाले हाँसेको कुरा कार्यकारी निर्माता डायमण्ड उप्रेतीले बताए । धरानमा छायाँकनको लागि आफ्नो सम्पूर्ण साथ रहने समेत मेयर हर्कले बताएका छन् ।

अहिलेको दर्शकहरुको चाहना अनुसार पूर्ण मनोरंजन दिने उदेश्यका साथ चलचित्र निर्माण गर्न लागेको कलाकार तथा निर्माता नबीन मानन्धरले बताए ।

चलचित्रमा अनमोल गुरुङको संगीत रहनेछ । प्रकाश भुजेल युनिट प्रोडक्सन मेनेजर तथा प्रदीप भण्डारी लाइन प्रोडुसर रहेका छन् । हेम चन्द्र राई र सतिश राई स्थानीय को-अर्डिनेटर रहेका छन् । चलचित्रको छायांकन इटहरी,धरान,दार्जलिंग र काठमाडौंमा हुनेछ ।

धेरै पढिएका

पछिल्ला अपडेट