इलाममा सुरु भयो ललितकला उत्सव

रंग नेपाल २०८० पुष १४ मा प्रकाशित

इलाम । इलाममा आजदेखि ललितकला उत्सव सुरु भएको छ । नेपाल र भारतका कलाकारका कलाकृति समेटेर उत्सव सुरु गरिएको हो । इलामको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकासहित छ संस्थाको संयुक्त आयोजनामा उत्सव सुरु भएको हो । यो देही आर्टको नौ शृङ्खला हो ।

इलाम निर्वाचन क्षेत्र नं १ का संघीय सांसद महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव तथा इलाम नगपालिकाकी उपप्रमुख विष्णु दाहाल लिम्बुले कार्यक्रमको संयुक्त उद्घाटन गरे ।

आजदेखि सुरु भएको ललितकला उत्सव यही पुस १६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । इलामको कला संस्कृतिको प्रवर्द्धन गर्दै पर्यटन प्रवर्द्धनका लागि ललितकला उत्सव सञ्चालन गरिएको नगरपालिकाकी उपप्रमुख दाहाल लिम्बुले बताइन् । नगरपालिकासहित जिल्ला उद्योग वाणिज्य संघ, नगर पर्यटन प्रवर्द्धन समिति, नगर कला साहित्य प्रतिष्ठान, प्याब्सन इलाम, देही आर्ट र होटल एसोसिएसन इलामको संयुक्त आयोजना रहेको छ ।

संस्कृति र कलाको प्रवर्द्धनले मात्रै समाज बलियो हुने सांसद बस्नेतले बताए । उनले पेन्ट्सका माध्यमबाट इलामलाई अगाडि बढाइएको भन्दै आयोजकलाई धन्यवादसमेत दिए । उत्सवमा नगरपालिकाका विभिन्न ठाउँका चित्र पेन्ट्समार्फत उतारिने छ । कतै चित्र हेरेर त कतै पर्यटकीय स्थल नियाल्दै प्रत्यक्ष रुपमा चित्र निर्माण गरिने बताइएको छ ।

हाल इलाम चोक बजार, माइस्थान मन्दिर, चिया बगान र अरनिको सङ्ग्रहालय गरी चार स्थानमा प्रत्यक्ष रुपमा कलाकारले चित्र बनाउने कार्यक्रम तय भएको नगर पर्यटन प्रवर्द्धन समितिका सचिव अर्जुन पोख्रेलले जानकारी दिए । उनका अनुसार उत्सवमा नेपाल र भारतका गरी ३३ जना कलाकारले सहभागिता जनाएका छन् ।

कलाकारले निर्माण गरेका तस्बिरहरू विभिन्न ठाउँमा प्रदर्शनसमेत गरिने जनाइएको छ । चित्रमार्फत पनि इलामका विभिन्न स्थानको प्रवर्द्धनमा सहयोग हुने उपप्रमुख दाहाल लिम्बुको भनाइ थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट